२०८३ वैशाख १३ , आइतबार

प्रहरी असईले कान्छी श्रीमती ल्याएपछि जेठी श्रीमतीको बिचल्ली !

जेठी श्रीमती भन्छिन्, स–प्रमाण पेस गर्दा पनि अदालतले न्याय दिएन 


सुर्खेत । दैलेख नारायण नगरपालिका–७ किमुगाउँकी सिता चन्द ३९ वर्षको भइन् । उनले २०५८ सालमा नेपाल प्रहरीका पूर्व सहायक प्रहरी निरीक्षक प्रेम चन्दसँग विवाह गरिन् । उनका श्रीमानले घरमा बुढी हुँदा हुँदै कान्छी श्रीमती ल्याए ।

२०६१ सालमै जेठी श्रीमती सीताको विवाह दर्ता र नागरिकता बनाइदिएका प्रेमले अहिले नेपालगञ्जमा कान्छी श्रीमतीसँगै बस्दै आएका छन् । प्रहरीमै कार्यरत हुँदा प्रेमले २०६७ सालमा कान्छी श्रीमती ल्याएका थिए । अहिले जेठी श्रीमती बिचल्ली अवस्थामा छिन् । सोमवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै श्रीमती चन्दले आफूलाई श्रीमानले कान्छी श्रीमती ल्याएर बिचल्ली बनाएको बताइन् ।

जेठी श्रीमतीको हक लाग्ने सम्पत्ति सुटुक्क कान्छी श्रीमतीका नाममा बनाएपछि जेठी श्रीमती अहिले आफ्नो बिचल्ली भएको भन्दै मिडियामार्फत पीडा पोख्न थालेकी छिन् । चन्दले प्रहरीबाट अवकाश पाएपछि पेन्सनपट्टादेखि अन्य सम्पत्तिमा कान्छी श्रीमतीको नाममा राखेका छन् ।

श्रीमती चन्दले भनिन ‘दोस्रो विवाह गरेपछि म सबै मिलाउँछु, तँलाई छोड्दिन पाल्छु भन्नुभयो ।’ खर्चको व्यवस्था पनि राम्रो नै गर्नुभएको थियो ।’ तर, अहिले पेन्सन आएपछि सबै कान्छी श्रीमतीको नाममा गर्नुभयो,’ मेरो केही वास्ता नै गर्नुहुन्न।’  श्रीमती चन्दले नेपाल प्रहरीको प्रधान कार्यालयकै कागजमा मेरा सबै प्रमाण हटाएर कान्छी श्रीमतीको नाम राखेको बताइन् ।

नेपाल प्रहरीका पूर्व सहायक प्रहरी निरीक्षक प्रेम चन्द

उनले श्रीमानबाट मात्र नभई अदालतलेसमेत न्याय नदिएको बताइन् । ‘श्रीमानबाट त पीडा थियो, प्रमाण हुँदा हुँदै अदालतले समेत न्याय दिएन’ उनले रुँदै भनिन् ‘मैले आफ्नो गरगहना बेचेर काठमाडौँ, सुर्खेत धाए ।’ कहीँ गएपनि न्याय पाएन ।’ श्रीमान् जागिरमै हुँदा आफूले आधा तलब लिएको बताउँदै सिताले अहिले प्रेमले जागिर छाडेर सबै हक कान्छीको नाममा गरेको बताइन् ।

अहिले उनको र उनकी र छोरीको बिचल्ली भएको छ । उनकी छोरी अहिले १७ वर्षकी भइन् । ‘छोरी उच्च शिक्षा पढ्दैछिन् । उनको शुल्क मात्रै ४० हजार बढी आएको छ,’ भएको पैसा सबै सकियो, हुँदा हुँदा केही न्याय पाइन्छ कि भनेर आफ्नो गरगहना बेचेर अदालत धाए’ उनले भ‍निन् ‘अदालतले समेत मलाई अन्याय ग¥यो ।’ ‘आधिकारिक श्रीमती आफू नै भएको स–प्रमाण पेस गर्दा पनि अदालतले होइन भनेर उनको पक्षमा फैसला ग¥यो।’ आफू बिरामी छु, छोरीलाई कसरी पढाउने अनि मलाई न्याय कसले दिने ?,’

श्रीमानले कान्छी श्रीमती ल्याएको थाहा पाएपनि बहुविवाहको मुद्दा नहालेको उनको भनाई छ । ‘बरु मिलेरै बसौँ भनेर श्रीमानलाई भनिरहे । नारीको कोमल मनले मुद्दा हालेपछि झन् तनाव होला भनेर दुःख दिन ठानिन्,’ सिता थप्छिन्, ‘माइती र पराई घरको इज्जतका लागि छोरी हुर्काएर बसे । दुवै पक्षबाट साथ र सपोर्ट पाए । तर श्रीमानले अन्तिममा आएर आफ्नो पेन्सन र पाउनुपर्ने अन्य हकमा कान्छी श्रीमतीको नाम राखेपछि अन्यायमा परे ।’

उनले अब आफूलाई श्रीमानभन्दा पनि घर खर्च चलाउने रकम निरन्तर दिनुपर्ने बताइन् । ‘मलाई श्रीमान् चाहिएको छैन, उनले भनिन् ‘छोरी पढिरहेकी छ, त्यसको रकम र मलाई घर खर्च धान्ने रकम दिए पुग्छ’ तर, उहाँ मदेखि सम्पर्क विहीन हुनुभएको छ।’ हुँदा हुँदा सम्बन्ध विच्छेदको मुद्दा हाल्नुभएको छ ।’ नेपाल प्रहरीबाट अवकाश पाएका प्रेम हाल नेपालगञ्जमा बस्दै आएका छन् । उनले १५ वर्षसम्म सम्पर्कविहीन भएपछि पेन्सनमा कान्छी श्रीमतीको नाम राखेको स्वीकार गरे ।

‘जागिरको अवधिमा मैले कमाउने २४/२५ लाख रकम थियो, त्योमध्ये १७ लाख मैले उसलाई दिइसकेको छु,’ प्रेमले भने, ‘दैलेख जिल्ला अदालतमा आधा तलब पाउँ भन्दै मुद्दा हालेपछि त्यो पनि दिएको हुँ । मेरो सम्पर्कमा नरहेपछि अहिले बाँके जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालेको छु । सुर्खेत उच्च अदालतले मसँग जोडिएका कागजात नक्कली भएको फैसला गरेसकेको छ ।’

उनले आफूमाथि लगाएका आरोप निराधार रहेको र जेठी श्रीमतीले पाउनुपर्ने जति सबै दिइसकेकाले छोरीको पठनपाठनका लागि खर्च व्यहोरिरहेको बताए । उनले छोरीलाई नेपालगञ्ज घरबाटै पढ्ने वातावरण मिलाउँछु भनेपनि नमान्दा अलग्गै बसिरहेको बताए ।

प्रकाशित मिति : २०८० चैत २७ गते मंगलबार