
डोल्पा । डोल्पाको मष्टा भवानी सामुदायिक वनमा भएको आगलागी निभाउने क्रममा गम्भीर घाइते भएका चार जनामध्ये तीन जनाको मृत्यु भएको छ ।
सोमबार जुम्लाको तातोपानी गाउँपालिका ४ स्थायी घर भइ देविदत्त गुल्म दुनैमा कार्यरत २८ वर्षीय हेमन्त रावतको मृत्यु भएको थियो भने मंगलबार देविदत्त गुल्ममा कार्यरत काभ्रेका ३८ वर्षीय जम्दार केशव बहादुर दर्जा मगर र हुम्लाका २३ वर्षीय आशिष बुढाको उपचारका क्रममा मृत्यु भएको हो ।
मगर र बुढाको उपचारका क्रममा मंगलबार दिउँसो काठमाडौंको कीर्तिपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख तुलसी प्रसाद दाहालले जानकारी दिए । आइतबार भएको आगलागी निभाउने क्रममा घाइते भएका चार जनामध्ये सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत आशिष बुढा र विजय कोइरालालाई नेपालगञ्जस्थित भेरी हस्पिटल पठाइएको थियो ।
त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि घाइतेहरुलाई काठमाडौं पठाइएको थियो ।यस्तै मृतक रावतको शव मंगलबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत उनको गृह जिल्ला जुम्ला पठाइएको छ । आगोमा जलेर गम्भीर घाइते भएका प्यूठ विजय कोइरालाको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
आइतबार लागेको आगो सोमबार पुनः सल्किएपछि देविदत्त गुल्म भदालेमा कार्यरत नेपाली सेनाका १६ जनाको टिम सोमबार बिहान आगो निभाउन गएको थियो । आगो निभाउने क्रममा घाइते बाँकी १२ जनाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ ।