सुर्खेत । कर्णाली प्रदेश सरकारले विगतमा चैते दसैंमा दिइँदै आएको बिदा यो वर्ष नदिइने भएको छ । यो वर्ष चैते दसैं वैशाखमा परेपछि प्रदेश सरकारले सार्वजनिक बिदा नदिने भएको हो ।
हिन्दु धर्मावलम्बीहरुले चैते दसैंलाई महत्वका साथ मनाउने गर्दछन्, तर प्रदेश सरकारले बिदा नदिँदा दसैं मनाउन घर पुग्ने कर्मचारी प्रभावित हुनेछन् । यसअघि चैत शुक्ल अष्टमीको दिन प्रदेशभर लागू हुने गरी बिदा दिने गरिएको थियो ।
यसपटक चैते दसैं वैशाख ४ गते परेपछि बिदा नदिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी दिएको हो । कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८० चैत २९ गतेको निर्णयबाट चैते दसैंको बिदा नदिइने भएको मन्त्रालयका सूचना अधिकारी रोशनबहादुर शाहीले हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति : २०८१ वैशाख ३ गते सोमबार