२०८३ वैशाख १३ , आइतबार

प्यूठानमा वैशाखयता आगलागीबाट ९५ घर जले, घटनामा संलग्न ४ जना पक्राउ



प्यूठान । प्यूठानमा आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । प्यूठानका विभिन्न वनमा आगो लगाएको आरोपमा उननीहरुलाई पक्राउ गरिएको हो । डिभिजन वन कार्यालय प्यूठानका अनुसार आगलागीमा संलग्न ३ जनालाई पक्राउ गरी जिल्ला अदालत प्यूठानमा मुद्दा दर्ता गरिएको छ भने एक जनालाई अनुसन्धानका लागि हिरासतमा पठाइएको छ ।

वन कार्यालय प्यूठानका सहायक वन अधिकृत हरी पौडेलका अनुसार सरुमारानी-४ बाट एक जना, प्यूठान नगरपालिका(४ बाट एक जना र ऐरावती(५ बाट एक जनालाई पक्राउ गरी मुद्धा दर्ता गरीएको छ । यस्तै प्यूठान नगरपालिका(१० बाट एक जनालाई पक्राउ गरी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

कार्यालयका अनुसार पछिल्ला केही दिनमै जिल्लाभर १० हजार हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । वन कार्यालयका अनुसार ७९ सामुदायिक वनमा आगलागी भएको हो । एउटा सामुदायिक वनले आगलागीमा संलग्न रहेको भन्दै एक जना स्थानीयलाई ६५ हजार जरिवानासमेत तिराएको छ । वन कार्यालयले आगलागीको सुराकी दिने व्यक्तिको नाम गोप्य राखी उचित पुरस्कारको समेत व्यवस्था गरेको जनाएको छ ।

आगलागी हुन नदिनको लागि कार्यालयले विभिन्न स्थानमा सुराकी परिचालन, प्रचार प्रसार, पालिकास्तरमा आगलागीसम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै आएको अधिकृत पौडेलले बताए । चैतयता वैशाख १६ गतेसम्म जिल्लाभरमा जम्मा ९५ वटा आगलागीका घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

आगलागीबाट ९५ घर तथा ५० गोठ जलेका छन् । यसबाट ७९ पाशुचौपायाको जलेर मृत्यु भएको छ भने १ सय ११ घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी ईश्वर थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ वैशाख १७ गते सोमबार