सुर्खेत । सल्यानको छत्रेश्वरी गाउँपालिका र वनगाड कुपिण्डे नगरपालिकाको विभिन्न सामुदायिक वनमा लागेको भिषण डढेलो बस्तीमा सल्किएपछि ११ घरगोठ जलेर नष्ट भएका छन् । डढेलोबाट बुधवार छत्रेश्वरीमा ७ र वनगाड कुपिण्डेमा ४ घरगोठ जलेर नष्ट भएका हुन् ।
छत्रेश्वरी ५ दियारगाउँस्थित महेन्द्र बहुमुखी सामुदायिक वनमा लागेको डढेलोले दियारगाउँका थलबहादुर घर्ती, मोहन ओली, टीकाराम ओली, प्रेम ओली, धनबहादुर घर्ती, शेरबहादुर ओली, खुमबहादुर ओली र बन्गाड कुपिण्डे नगरपालिका ५ खैरागारस्थित रत्नबहादुर राना, बलबहादुर रानासहित ११ जनाको घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए ।
बुधबार बिहानैदेखि लागेको डढेलोले केही चौपाया पनि जलेर मरेको उनले बताए । उनकाअनुसार डढेलोका कारण छत्रश्स्वरीको दियारगाउँ र वनगाड कुपिण्डे नगरपालिका ५ खैरागारका दुई दर्जनभन्दा बढी घर जोखिममा छन् । बिहानैदेखि लागेको डढेलो सुरक्षाकर्मी, स्थानीय, सामुदायिक वनका उपभोक्ताको सहयोगमा निभाइएको छ । डढेलोबाट भएको क्षतिको एकीन विवरण भने आउन बाँकी छ ।