
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कृत्रिम गर्भाधान सम्बन्धी एकदिने गोष्ठी तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार निर्देशनालयका निर्देशक कृष्ण प्रसाद पंगेनीको अध्यक्षतामा स्थानीय तहका पशुपन्छी विकास शाखा प्रमुख तथा इन्सेमिटरहरुसँग एकदिने कृत्रिम गर्भाधान सम्बन्धी गोष्ठी तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
पशुपन्छी विकास निर्देशनालयको आयोजनामा भएको कार्यक्रममा सुर्खेतका नौ वटै स्थानीय तहका पशुपन्छी शाखा प्रमुख तथा इन्सेमिटरहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका पशु चिकित्सक जितेन्द्र श्रेष्ठ, डा. राकेश प्रजापति र पशुपन्छी विकास निर्देशनालय सुर्खेतकी डा. सोविना मल्लले कार्यक्रमबारे विभिन्न जानकारी तथा कार्यपत्र प्रस्तुत गरेका थिए ।
चिकित्सक श्रेष्ठले प्रजनन अङ्गका विकृतिहरूको पहिचान र उपचारका विधिहरूको बारेमा सहभागीहरूलाई जानकारी दिएका थिए भने डा। मल्लले कर्णाली प्रदेशमा कृत्रिम गर्भाधानको अवस्था र सम्भावनाबारे अभिमुखीकरण गराएका थिए । मल्लले कर्णाली प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहमध्ये ३८ स्थानीय तहमा कृत्रिम गर्भाधान भएको भएपनि ४१ पालिकामा कृत्रिम गर्भाधान कार्य सुरु नै नभएको गुनासो गरिन् ।
उनले दक्ष जनशक्तिको अभाव, कृषक स्तरमा प्रचार–प्रसारको कमी लगायतका कारण उक्त कार्य सुरु हुन नसकेको बताइन् । चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा ३ हजार ३ सय ५६ पशुको गर्भाधान गरेकोसमेत जानकारी दिइन् । कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासा माथि निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले प्रस्ट पारेका थिए ।
कार्यक्रमको समापनमा बोल्दै निर्देशक पंगेनीले कृत्रिम गर्भाधान कार्यक्रमलाई अझै प्रभावकारी बनाउनुपर्ने बताए । उनले सुर्खेतका केही पशुपन्छी शाखा प्रमुखलाई कृत्रिम गर्भाधान (एआई) गर्ने समेत नआउनु दुःखद भएको बताए ।
निर्देशक पंगेनीले कृत्रिम गर्भाधान गर्दा स्थानीय गाईमा दूध बढ्ने र गाईले जन्माएको बाच्छा–बाच्छी उन्नत जातका हुने, थोरै वीर्यबाट धेरै गाईलाई प्रजनन गराउन सकिने, बहर लाग्ने र सरुवा रोगबाट बच्न सकिने जस्ता विभिन्न फाइदाहरूको बारेमा बताएका थिए।