
उद्योग वाणिज्य संघ सुर्खेतका पूर्व अध्यक्ष टेकबहादुर भण्डारी
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् सुर्खेतका प्रतिष्ठित व्यवसायी टेकबहादुर भण्डारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी विरुद्ध आइतवार पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
गत मंगलवार आर्थिक लेनदेनको विषयलाई लिएर भण्डारीले केही व्यक्तिहरुलाई लिएर वीरेन्द्रनगर-३ मा रहेको लक्ष्मी सुपर मार्टका संचालकलाई कुटपिट गरेकाे र पसलमा तालाबन्दी गरेकाे आराेप छ । कुटपिटपछि मार्टका सञ्चालकले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका थिए ।
आइतवार जाहेरी दर्ता भएसँगै उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले खबरदृष्टिलाई जानकारी दिए । “पक्राउ पुर्जी जारी भएको छ, भण्डारीले मंगलवार पसलमा गएर कुटपिटका साथै पसलमा तालाबन्दी गरेका रहेछन। हामीले यसलाई गहिरो अनुसन्धान गरेका छौं,” उपरीक्षक खड्काले भने।
उनलेे यसबारेमा थप अनुसन्धान भइरहेकाले अनुसन्धान कार्य प्रभावित हुनेगरी अन्य कुरा खुलाउन नमिल्ने बताए। यसबारेमा थप बुझ्न खाेज्दा भण्डारीकाे माेबाइल अफ थियाे ।