२०८३ वैशाख १३ , आइतबार

द्वन्दकालमा खसी बुझाएर व्यवसाय गरेका वडा अध्यक्ष चपाई 



वडा नं १२ का अध्यक्ष चूडामणि चपाई

सुर्खेत । दिनभर वडाको काममा व्यस्त रहने वीरेन्द्रनगर वडा नं १२ का अध्यक्ष चूडामणि चपाईलाई फुर्सदिलो समयमा भेट्न मुस्किल हुन्छ। पार्टीको काम भन्दापनि जनप्रतिनिधिको भूमिका खरो रूपले निभाउने चपाईको यही दौडधुप र जनतासँगको निकटताले गत २०७९ सालमा भएको निर्वाचनमा लोकप्रिय मतका साथ निर्वाचित बनाउन सहयोग गर्याे ।

वीरेन्द्रनगर १२ विगतदेखि नै नेकपा एमालेको गढ हो। नेकपा एमाले विभाजन भएपछि पनि त्यो सङ्गठन ज्यूँकात्यू छ। पार्टीबाट २०७९ सालमा निर्वाचित वडा अध्यक्षलगायतको टिम समाजवादी पार्टीमा जाँदा पनि एमालेको सङ्गठन हल्लिएन । त्यही सङ्गठनको बलमा एमालेले विभिन्न निर्वाचन जित्दै आएको छ। निर्वाचनको गणना हुँदा अन्य स्थानमा पछि परेपनि १२ नं गणना हुन बाँकी छ भने हजार पन्ध्र सय मत त वडा नं १२ ले पूर्ति गरिहाल्छ भनेर एमाले कार्यकर्ता ढुक्क हुन्छन् ।

यही वीरेन्द्रनगर १२ का वडा अध्यक्ष भने एमालेले चुनावताका घोषणापत्रमा उल्लेख गरेबमोजिम काम नहुँदा खिन्न हुन्छन् । उनी भन्छन्, ‘नगरपालिकाका फाँटहरूबाट जनताले भनेजस्तो सेवा पाएका छैनन्। काम एकदमै धिमागतमा भएको छ । सेवा प्रवाह चुस्त छैन, पार्टीले चुनावका बेला जारी गरेको घोषणापत्रलाई रद्दीको टोकरीमा मिल्काइएको छ ।’

  बजेटले लक्षित गरेका कार्यक्रमहरू पूरा नभएको बजेटमा लेखिएका योजनाहरूबारे सोध्दा जिम्मेवार पदमा रहेकाहरूले उत्तर नदिने, प्राविधिक शाखाले सामान्य स्टिमेट गरिदेऊ भन्दापनि नगरिदिने,वडा अध्यक्ष हामीहरूको दास हो भन्ने जस्तो व्यवहार हुँदा दुख लाग्ने उनी गुनासो गर्छन् । पार्टी नेतृत्वले पनि अघि बढ्न नदिएकोप्रति दुखेसो पोख्छन् । पार्टीमा माथि बढ्न नदिइएको, समाजले नेता स्विकार्दा पनि नेतृत्वले स्वीकार नगरेकोमा उनी खिन्न छन्।

नगरपालिकाको पूर्वाधारको नेतृत्व लिएकाहरूले वडा नं १२ लाई हेला गरेका छन्। उपत्यका खानेपानी संस्थामा लामो समय नेतृत्व गरेको व्यक्ति भएपनि खानेपानीको वीरेन्द्रनगरमा हाहाकार भएकोमा उनको चित्त दुखेको छ । उनी सानो उमेरको हुँदा उनका बुवाले छाडेर गए। यसको पीडा उनी सजिलै व्यक्त गर्न सक्दैनन् । ‘जिन्दगीको तीतो स्वाद र मिठो सपना बोकेका मानिसहरू कमै पाइन्छ होलान् त्यसमध्ये एउटा कठिन सङ्घर्ष पार गर्दै आरोह अवरोह उतारचढाव व्यहोर्दै आएको म एउटा पात्र हो जस्तो लाग्छ ।

बुबा बाल्यकालमा स्वर्गवास हुँदा म १२ वर्ष, बहिनी ८ वर्षको र सानो भाइ २ वर्षका थिए । दिदीको भर्खरै विवाह भएको थियो । दाजु १६ वर्षको हुनुहुन्थ्यो । बुबा र हजुरआमा २१ दिनको फरकमा स्वर्गवास हुनुभयो,’परिवारले भोगेको पीडाबारे उनी भन्छन् । उनले आफ्नो परिवारको सुर्खेतको सुब्बाकुनामा झन्डै दुई बिगाहा जमिन (खेत) भएको र सुर्खेतमा आफूहरू मध्यम परिवार भएको बताए ।  उनी सम्झना गर्छन्, “बस्ने घर चाहिँ साबिक जर्बुटा ढाँब भन्ने ठाउँमा थियो। बुबा र हजुरआमाको मृत्युसँगै सुर्खेत आवतजावत गर्ने माध्यम सकियो । समय बित्दै अनि आफ्नै रफ्तारमा गयो ।

गर्पनमा प्रावि स्तरको पढाई सकेर आदर्श माध्यमिक विद्यालय मेहेलीमा अध्ययन गर्न पुगे । त्यहाँ कक्षा ८ सम्म अध्ययन गरे । केही समयपछि भागेर भारतको बम्बई सहरमा चौकीदार पनि गरे । दुई तीन पटक नेपाल आउने जाने क्रम भयो। उक्त समयमा नेपालमा प्रजातन्त्र आएको थियो।  घरमा रेडियो समेत थिएन । पहिलो पटक भारतबाट रेडियो किनेर ल्याएर घरमा दिए। उनले आफ्नो दाइ त्यति बेला कम्युनिस्ट भइसकेको जानकारी दिए ।

उनले दोस्रो पटक क्यामेरा बोकेर घर फर्किएको र गाउँ बस्ती गएर फोटो खिची केही आम्दानी गरेको बताए। यो पेसाबाट पनि सन्तुष्ट नभएपछि केही समय गाउँ–गाउँमा जुत्ता चप्पल र फेन्सी कपडा डुलाएर ८ वर्षसम्म जीविकोपार्जन गरेको उनले बताए । विवाह गरेपछि पनि यो काम चलिरहेको उनले जानकारी दिए । ससुराली तराईको र म गाउँको हुँदा चुनौती र अपमान दुवै थपिएको उनले स्वीकारे।

“ गाउँमा मेरो दिनचर्या पछाडि कपडा बोक्ने अगाडि क्यामेरा झुन्ड्याएर गाउँ बस्तीमा व्यापार गर्ने थियो, ‘उनी थप्छन्,गाउँमा भएको अदुवा लगायतका कृषि वस्तु खरिद बिक्रीको कारोबार पनि गर्दैन गए ।’ उनी माओवादीले जनयुद्ध सुरु गरेको दिनहरू सम्झँदै भन्छन्, ‘नेकपा माओवादीको जनयुद्धले बिस्तारै उचाइ लिन थाल्यो । म त्यसबेला एमालेको पार्टी सदस्य भइसकेको थिए ।

एक दिन नेकपा माओवादीले मलाई हाम्रो अनुमति बेगर (चन्दाबिना) गाउँमा व्यापार गर्न नपाउने र एक लाख चन्दा नदिए नछाड्ने धम्की दिएपछि  वीरेन्द्रनगर १५ मेहेलीका मामा जगत ढकालसँग ३ हजार सात सय मूल्यको खसी किनेर माओवादीको हातमा थमाए ।’ मामा जगत प्रसाद ढकालको छोरी उनको बहिनी उनी वडा अध्यक्ष भएको वडामा सचिवको रूपमा  कार्यरत रहेको जानकारी दिए । खसी लिने समूहका सदस्य तत्कालीन माओवादी र हालका एमाले चिङ्गाड गाउँपालिकाका अध्यक्ष भएको उनले खुलासा गरे।

उनले ती सदस्य मध्ये एकजना नेकपा एमालेको नवौँ जिल्ला अधिवेशनबाट जिल्ला कमिटीमा चयन भएको समेत जानकारी दिए । तत्कालीन समयमा आर्मी पुलिसबाट आफूलाई निकै असुरक्षा भएको र धेरै पटक तत्कालीन सेना प्रहरीले यातना दिएको बताए। गाउँमा माओवादी नभएमा बस्ने वातावरण नभएकोले जर्बुटाबाट वीरेन्द्रनगर बसाइसराई गर्ने निधो गरेको बताए।  गर्पन गाविसबाट आएका टिकाराम खरालसँग जर्बुटा गाविस हाल वीरेन्द्रनगर १३ गुप्तिपुरमा १ लाख ४ हजारमा ५ कट्टा जग्गा किनेर गुप्तिपुरमा सानो घर बनाएको बताए ।

उनले ५ वर्षे छोरी र २ वर्षको छोरासहित श्रीमतीलाई ल्याएर बसाइँ–सराई गरेको जानकारी दिए। केही समय पछि इन्द्रबहादुर खत्रीबाट उधारो कपडा र जुत्ता चप्पलको  व्यापार सुरु गरेको गरे । उधारो दिएको सामानको पैसा उठाउन गाउँमा पुगे। उनले त्यो क्रममा कुखुराको करदेखि खसी बाख्रा, थारा भैँसीहरू वीरेन्द्रनगर बजार ल्याएबापत चन्दा दिनुपरेको बताए।  सुर्खेत पूर्वको औंलझ्यामादेखि पश्चिम गुटुसम्म घिउँ, बेसार, अदुवा लगायतका वस्तु सङ्कलन गर्न पठाउने गरेको आ-आफ्नो पुरानो अनुभव सुनाए ।

‘वीरेन्द्रनगर  ९ का  गोपाल लामा र निर्मल लामाका धेरै खच्चड थिए र ती खच्चडहरू मार्फत गाउँमा सामानहरू पैठारी गरेको थिएँ ।कहिलेकाहीँ झन्डै दुई सयभन्दा बढी खच्चडहरू गाउँ बस्तीमा पुर्‍याउने गरेको उनले पुराना दिनहरू सम्झँदै बताए । माओवादीहरूबाट चिट पठाएर दिएका सामानहरूको भुक्तानी अहिलेसम्म नपाएको उनको गुनासो छ। शान्ति सम्झौता पश्चात् यातना र सम्पत्ति क्षतिको विवरण शान्ति समितिलाई बुझाएपनि क्षतिपूर्ति नपाएको उनले उनले दुखेसो पोखे। “६५ हजार रकम अरू कसैले झिकेर खाइदिए ।

तथापि म आफूलाई थाकेको महसुस गरिन । गाउँ पालिकाको सदस्य हुँदै वीरेन्द्रनगर १२ नेकपा एमालेको वडा कमिटी सदस्य उपाध्यक्ष हुँदै करिब १६ वर्ष वीरेन्द्रनगर १२ र राज्यको  पुनर्संरचनासँगै वीरेन्द्रनगर ११ र १२ लाई मिसाएर बनेको वडा नं १२ को जनप्रतिनिधि, दुई कार्यकाल वडा कमिटी अध्यक्ष हुँदै हाल सुर्खेत जिल्ला कमिटी सदस्य पुगेको छु,’ उनले भने। नेकपा एमाले वीरेन्द्रनगर १२ मा धेरै पटक पार्टी कमजोर बनाउने प्रयत्न भएपनि त्यो प्रकृतिविरुद्धमा खरो उत्रँदै पार्टी जोगाउने अभियानको नेतृत्व गरिरहेको उनको दाबी छ ।

२०७४ मा चुनावमा टिकट पाउने क्रममा आफू र आफ्नो परिवार चितवन मेडिकल र क्यान्सर अस्पतालमा भर्ना भएपनि पार्टीले वीरेन्द्रनगर १२ को वडा सदस्यको टिकट दिएकोमा उनले पार्टीलाई धन्यवाद दिए। वडा सदस्यमा निर्वाचित भए लगत्तै आफूले सक्दो समाजसेवामा सक्रिय रहेको र कोभिड महामारी फैलिएका बेलामा घर–घरमा कोभिड व्यवस्थापनका सामाग्री लगायत स्वास्थ्य सामाग्री र अक्सिजन बोकेर घरघर पुगेको उनले बताए ।

उक्त समयमा दुई धारको राजनीति भएको र नेतृत्व पार्टी लाइन विपरीत हिँड्ने वडा अध्यक्षको मातहतमा भएकोले काम गर्न निकै कठिन भएको दुखेसो पोखे।  अध्यक्षले पार्टीको मूल प्रवाह एमाले छाडेपछि राजनीतिले अर्को बाटो लिएको उनले बताए । पार्टी विभाजन पछि वीरेन्द्रनगर १२ मा फेरि नेकपा एमाले कमजोर हुन पुगेको र तीनजना सदस्यले पार्टीले दिएको जिम्मेवारी पुरा गर्दै ७९ को स्थानीय चुनावमा वीरेन्द्रनगर १२ बाट पुराना तीन र नयाँ दुई गरी स्थानीय चुनावमा होमिएको स्मरण गरे।

चुनावको परिणामअनुसार १२ नम्बरका जनताहरूले दुई तिहाइ भन्दापनि बढी बहुमतले बिजय बनाएको र एकजना महिला सदस्य जिल्ला समन्वयको सदस्य र एकजना वीरेन्द्रनगर नगर कार्यपालिकाको सदस्य, एकजना न्यायिक समिति सदस्यमा रहेको जानकारी दिए । बिहानदेखि रातीसम्म कुनै पनि बेला सक्रिय नभएको कुनै दिन नभएको र टेलिफोनको घण्टी रातिको समयमा पनि आउने गरेको उनले बताए। जनताका कामहरू गर्न पार्टीको नेतृत्व अनुदार भएको उनको गुनासो छ।

पार्टी सुखको मात्रै साथी भएको महसुस भएको र पार्टीको सदस्यता शुल्क पार्टी सञ्चालनका लागि मात्रै भएको र समाजको हितका लागि काम नभएको उनको गुनासो छ। सोझा सीधा कार्यकर्ता सिध्याउने गरी केही नेताहरू परिचालित भएको थाहा पाउँदा दुख लाग्ने गरेको उनको भनाइ छ । नेतृत्व चरम स्वार्थी, अवसरवादी र चरम व्यक्तिवादी भएको महसुस आफूले गरेको उनले बताए।नेतृत्व नीति, विचार र सिद्धान्तका कुरा भाषणमा मात्रै गर्ने र व्यवहार पापी र कोर्दी स्वभावको हुने गरेको उनको गुनासो छ ।

जनताका मुद्दा बोक्दै गर्दा कहिलेकाहीँ संवेदनशील क्षेत्रलाई हेक्का नपुर्‍याउँदा पश्चात्ताप हुने गरेको उनले स्वीकारे। केही समय अगाडि वीरेन्द्रनगर १२ मा लथालिङ्ग भएका तार व्यवस्थापनका नाममा हटाउँदै गर्दा भोगेको लफडाले जीवनमा ठुलो शिक्षा पाएको उनी स्वीकार छन्। ‘नेपाल टेलिकम तथा नेटको तारहरू नयाँ पुराना कुन हुन थाहा नपाउँदा केही अप्रिय काम हुन पुग्यो।  तर मैले नागरिकहरूको घरबाहिर भित्र हलुका सवारी साधन हिँडडुल गर्न समेत कठिन भएका बिजुलीका नाङ्गा तारहरूमा अन्य तारहरू बाँधेर राखेको देखेकोले सूचना जारी गरेरै नागरिकहरूको रोहोवरमा आफैले तार काटेको हुँ,’ उनले भने।

उक्त कुरा नेपाली सेना, नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरण र आफू स्वयमले समन्वय गरी अवरोध भएका तारहरूलाई व्यवस्थापन गरिएको बताए। तर, आफू नै अप्ठ्यारो पार्ने हेतुले रातको ९ बजे सुनियोजित ढङ्गले दूरसञ्चारको तार काटी आफ्नै नाममा उजुरी पारिएको उनको भनाइ छ । आफू जस्तो सार्वजनिक मान्छेले सार्वजनिक सूचना गरेर काटेको बाहेक अन्य ठाउँमा यस्तो काम नगरेको उनले बताए। उनले भने, ‘मैले यो कुरा मेरो नेतृत्व र पार्टीलाई भने।

तर मलाई उहाँहरूबाट कुनै जघन्य अपराध र भ्रष्टाचार गरे जस्तो गरी अपराधीको रूपमा चित्रण गरियो। यो मेरो र मेरै पार्टीभित्रका केही नेताहरूबाट सहयोग गर्नुको साटो मौका यही हो र यो धेरै लोकप्रिय भयो भने आगामी २०८४ मा फेरि जनताबाट माथिल्लो पदबाट निर्वाचित हुन्छ भनेर असहयोग गरेको हो ।’ आफ्नो समय अझ तीन वर्ष बाँकी रहेको र आगामी दिनमा पनि डटेर समाज सेवा गर्ने मेरो कुनै निजी स्वार्थ नभएको उनको भनाइ छ।

पार्टीमा गुट उपगुट र समूह गराउनुभन्दा कामकाजी साथीहरूलाई समेटेर नेकपा एमाले बलियो बनाउनुपर्ने उनको धारणा छ । आफू एक सहिद परिवारको सदस्य पनि भएको उनले बताए। नेपाली सेनामा कार्यरत दाजु र प्रहरी सेवामा कार्यरत भाइ सहिद भएको बताउँदै राज्य र विद्रोहीबाट यातना र कुटपिटका कारण धेरै नेपालीहरूले दुख पाएको उनले बताए। नेकपा एमालेका नेता यमलाल कँडेललाई विगतदेखि नै नेता मानेको र अहिलेसम्म पनि त्यसमा तलमाथि नगरेको उनले स्वीकार गरे।

तर, वीरेन्द्रनगरका मेयरले अपेक्षाकृत रूपमा जनताका काम नगरेको उनले बताए। वीरेन्द्रनगरका उपमेयरले पनि हरेक विषयमा वडा नं १२ र आफूलाई असहयोग गरिरहेको उनले आरोप लगाए। नगरपालिकाले विधेयक समितिको संयोजक बनाए पनि कुनै पनि विधेयक टेबुल नगरेको र नेतृत्वले “ओभरटेक“ गर्ने गरेको उनले बताए। अध्यक्ष चपाईले एमाले छाडेर अन्यत्र जाने गरेकोमा दुख व्यक्त गरे। पार्टी सदस्यहरूले गर्ने गुनासो र समस्याहरूलाई नेतृत्वले सुन्नुपर्ने र पार्टी छाडेकाहरूलाई पार्टीमा फिर्ता गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : २०८१ वैशाख २४ गते सोमबार