
फरार प्रतिवादी हिरा वि.क
सुर्खेत । रुकुमपश्चिममा कर्तव्य ज्यान मुद्धाका एकजना फरार प्रतिवादी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा चौरजहारी नगरपालिका–१३ बस्ने ४० वर्षीया हिरा वि.क रहेकी छिन् । उनलाई दाङको बबई गाउँपालिका–५ हुरुमबेलीचौरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।
उनकाअनुसार २०७५ पुस २५ गते वि.कले आफ्नै देउरानी नाता पर्ने २८ वर्षिया कल्पना नेपालीलाई कुटपिट गरी घाइते बनाएकी थिइन् । घाइतेको कल्पनाको २०७८ मङ्सिर १९ गते उपचारकै क्रममा मृत्यु भएका प्रहरीको भनाई छ ।
घाइतेको मृत्युपश्चात फरार रहेकी आरोपी हिरा वि.कलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय तुल्सीपुरसँगको समन्वयमा पक्राउ गरेको हो । पक्राउ परेकी आरोपी वि.कलाई कर्तव्य ज्यान मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।