सुर्खेत । कालिकोटमा बोलेरो जिप दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । कर्णाली कोरिडोर अन्तरगत सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर–३ मानेगडाबाट पचालझरना गाउँपालिकाको घाटाचौरतर्फ जाँदै गरेको ग ३ च ६५०६ नम्बरको बोलेर जिप दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका हुन् ।
बिहीबार राती ९ बजे १२ जना यात्रु लिएर घाटाचौर जाँदै गरेको बोलेरो पचालझरना गाउँपालिका वडा नम्बर–८ को सिँजाबगरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । जिप दुर्घटनामा परी घाइते हुनेमा पलाँता गाउँपालिका–६ बस्ने वर्ष २० का जनराज विक, वर्ष २१ का राजन विक, वर्ष ६१ का लाल विक, वर्ष ३० का धनराम विक, वर्ष २५ का लक्ष्मी विक, वर्ष २५ का पुष्कर विक रहेका छन् ।
यसैगरी पलाँता गाउँपालिका–२ बस्ने वर्ष ७० का जयमल कामी, वर्ष १८ का पारस कामी र सोही गाउँपालिका–६ मा बस्ने वर्ष ३४ का लालभक्त विक र वर्ष ७० का एमैन विक रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव निरीक्षक पोषण थापाले जानकारी दिए ।
रास्कोट नगरपालिका–६ घर भएका वर्ष २२ का चालक दिनेश फर्शाल र सोही ठाउँका वर्ष १८ का सहचालक रमेश फर्शाल पनि घाइते प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि कालिकोट जिल्ला अस्पताल मान्मले शुक्रवार बिहान सुर्खेत रिफर गरेको छ । जिप सडकबाट ५० मिटर तल भीरमा खसेको छ ।