२०८३ जेठ २७ , बुधबार

झाडापखालाबाट २९ जना बिरामी, ७ को अवस्था गम्भीर



बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ। एक्कासि फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका छन्। बिरामीमध्ये सात जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए।

कुसुम स्वास्थ्य चौकी इन्चार्ज अमृत महतराका अनुसार खोकना कुसुममा झाडापखाला फैलिएको जानकारी आउनसाथ स्वास्थ्य चौकीबाट पाँच जना स्वास्थ्यकर्मीको टोली परिचालन गरी उपचार भइरहेको छ।

पानी शुद्धीकरण गर्ने औषधि तथा पखालाका अन्य औषधिसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ। अत्यधिक गर्मी, दूषित पानी र खानेपानीमा केही गडबडी भएकाले सो गाउँमा झाडापखाला फैलिएको जनाइएको छ।

झाडापखाला लागेका बिरामीको अवस्था सुधार हुँदै गएको भन्दै जिल्लाबाट प्रभावित क्षेत्रमा थप स्वास्थ्यकर्मी औषधिसहित परिचालन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय प्रमुख शाहीले बताए।

प्रकाशित मिति : २०८१ वैशाख २९ गते शनिबार