२०८३ वैशाख १३ , आइतबार

यार्सा संकलन गर्न गएका जुम्लाका चार युवा अलपत्र



फाइल तस्बिर

दिपेन्द्र शर्मा, सुर्खेत । हिमाली डोल्पा जिल्लाका पाटनहरुमा यार्सा संकलनका लागि गएका जुम्लाका चार जना युवाहरु अलपत्र परेका छन् । जुम्लाको पातारासी गाउँपालिका-३ का चार जना युवाहरु डोल्पाको साल्दाङ फोतगाउॅ पासु क्याम्पमा अलपत्र परेको पातारासी गाउॅपालिकाका कार्यवहाक अध्यक्ष दत्तबहादुर बुढाले बताए।

उनका अनुसार पातारासी ३ मोहरीगाउॅका ओमप्रकाश बुढा र जय बुढा, चौर गाउॅका हिरालाल रावत र चन्नलाल रावत अलपत्र परेका हुन् । चार जनामध्ये ओमप्रकाश बुढा लेक लागेर बिरामी छन् । बिरामी परेका ओमप्रकाशको तल्लो शरीर नचलेको उनको भनाइ छ ।आफन्तहरुले तत्काल उद्धार गरेर अलपत्र परेकाहरुको ज्यान बचाउन माग गरेका छन् ।

कार्यवहाक अध्यक्ष बुढाले भने, ‘आफन्तहरुले फोन गरेर अलपत्र परेकाहरुको उद्धारको लागि पहल गर्न आग्रह गरेका थिए । त्यहीअनुसार प्रक्रिया अघि बढिरहेको छ ।’ जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले अलपत्र नागरिकको उद्धार गर्ने बारेमा छलफल भइरहेको बताए । उनका अनुसार प्रदेश सरकार र गृह मन्त्रालयमा हेलिकोप्टरको व्यवस्थाको लागि पत्र पठाइसकिएको छ ।

प्रदेश सरकारले हेलिकप्टरको खर्च बेहोर्ने वित्तिकै उनीहरुको उद्धार हुने प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ ।प्रदेश सांसद देबेन्द्रबहादुर शाहीले अलपत्र अवस्थामा रहेका नागरिकहरुको उद्धारको लागि कर्णाली प्रदेश सरकारसँग पहल भइरहेको बताए ।

यसअघि मुगुम कार्मारोङ गाउॅपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न गएका जुम्ला पातारासी गाउॅपालिका–३ चौर गाउॅका अन्दाजी २६ वर्षीय सुर्ज रावतको लेक लागेर मृत्यु भएको थियो । शनिबार यार्सा टिप्न गएकी पातारासी १ की विष्णुमाया ऐडीको डोल्पाको प्यारी गुफा लेकमा अचानक ढुंगा खसेर टाउकोमा लागेर मृत्यु भएको स्थानीय टासीबहादुर ऐडीले बताए।

प्रकाशित मिति : २०८१ वैशाख ३० गते आइतबार