
सुर्खेत । दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । अन्य ६ जना घाइते भएका छन् । आइतबार अपराह्न ४ः३० बजेको समयमा दुल्लु नगरपालिका–६, धाडाको जंगलस्थित भित्री सडकखण्डमा भे १ त ८९६ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेर दुल्लु नगरपालिका–६, खच्चै गैराका ५५ वर्षीय मानबहादुर रावलको घटनास्थलमै मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ । चालकसहित ७ जना सवार ट्याक्टरले विद्युतको पोलको सामान बोकेको थियो । लोड धेरै भएको र पोलहरु हल्लिन गई ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक, सहचालक गरी ६ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुल्लु नगरपालिका–६, का ५६ वर्षीय कमारो रावलको अवस्था गम्भीर छ । उनको बायाँ खुट्टामा चोट लागेको छ । यस्तै ४८ वर्षीय दानबहादुर रावलको दाहिने खुट्टामा चोट लागेको छ भने ट्याक्टरका साहु ३१ वर्षीय ललित खड्काको मुख, हात र खुट्टामा चोट लागेको छ ।
तीनै जनाको दुल्लु अस्पतालमा उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ । बाँकी तीन जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।