सुर्खेत । दुई वर्षदेखि अटो चढेको भाडा नतिरेको कारण महिलाको हत्या गरेको अटो चालक टेकबहादुर घर्तीले प्रहरी समक्ष बताएका छन् । दाङको घोराही उपमहानगरपालिका–१० पहेलपारमा शनिबार दिउँसो दुई महिलाको हत्या गरेका थिए ।
सुर्खेत घर भई घोराही उपमहानगरपालिका–१० पहेलपार बस्दै आएकी अन्दाजी ४४ वर्षीया सङ्गीता सुनार र रुकुम घर भइ सोही ठाउँ बस्दै आएकी अन्दाजी ५० वर्षीया जुतली बुढाको हत्या भएको थियो । प्रहरीले दुवै महिलाको हत्या आरोपमा रोल्पाको थवाङ घर भइ घोराही–१७ मा बस्दै आएका अटो चालक टेकबहादुर घर्तीलाई पक्राउ गरेर अनुसन्धान क्रममा अटोमा चढेको पैसा नदिने र टार्दै आएको उत्पन्न विवाद कारण बन्चरो प्रहार गरेर हत्या गरेको बताएका छन् ।
‘सङ्गीता र जुतलीलाई अटो चालक घर्तीले काम पर्दा र घुमफिर गर्न जाँदा घरबाट बजार लैजाने र ल्याउने गर्थे’ जिल्ला प्रहरी प्रमुख रामबहादुर केसीले अटो चालक घर्तिको बयान उदृत गर्दै भने ‘अटो भाडा माग्दा नदिएपछि हत्या गरे ।’ शनिबार पनि अटो चालक घर्तीले घरबाट बजार र बजारबाट घर अटोमा लगेर गएका थिए ।
तर, घर पुगेपछि अटो भाडा माग्दा दिन आनाकानी गरेको खुलेको जिल्ला प्रहरी प्रमुख केसीले बताए । त्यो दिन तीनै जना बसेर मापसे गरेपछि महिलाहरुले टेकबहादुरलाई केही गर्न नसक्ने भन्दै धाक धम्की दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी केसीले बताए । शनिबार पनि दुवैले भाडा नदिएपछि आवेगमा आएका टेक बहादुरले घरमै गएर बन्चरो प्रहार गरी उनीहरूको हत्या गरेको स्वीकार गरेको एसपी केसीले बताए ।