हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका दुई र सिमकोट गाउँपालिकाको एउटा बस्ती आइतबारदेखि अन्धकारमा छन् । नाम्खा–३ को लामाखोल्सी र खगालगाउँ तथा सिमकोट गाउँपालिका–८ खोल्सी गाउँ लामाखोल्सी र खगालगाउँ बीचको खोलामा रहेको विद्युत गृहमा मेसिनको फित्ता चुँडिदा विद्युत् सेवा अवरुद्ध भएको हो।
फित्ता चुँडिएर विद्युत् सेवा अवरुद्ध भएसँगै तीन बस्तीका झण्डै दुई सय ८० परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । आइतबार साँझ फित्ता चुँडिदा यहाँका बासिन्दा बिजुलीबाट वञ्चित छन् । खगालगाउँमा ९०, लामाखोल्सीमा ३० तथा सिमकोट( ८ को खोल्सी गाउँमा एक सय ६० परिवारको बसोबास छ ।
नाम्खा गाउँपालिकाका उपाध्यक्षले चुँडिएको फित्ता मर्मतका लागि पहल भइरहेको बताए। स्थानीयले सल्लाको दियालो को प्रयोग गर्नुपर्ने बाध्यता छ। यहाँ हिल्दुम जलविद्युत् आयोजनाको लाइन विस्तार हुन नसक्दा समेत समस्या भएको उपाध्यक्षले बताए।