
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे सुर्खेतका क्रियाशिल पत्रकारहरूसँग सुझाव लिएका छन् । आगामी वर्षको बजेट, नीति तथा कार्यक्रमबारे सुझाव लिन मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित पत्रकारसँगको छलफलमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रमबारे सुझाव लिएका हुन् ।
सम्मेलनमा पत्रकारहरुले महत्वाकांक्षी र पपुलिष्ट नभई कार्यान्वयन हुन सक्ने बजेट ल्याउन सुझाव दिएका थिए । बजेटमा विविध कारणले धराशायी बन्दै गएका स्थानीय रोजगारमूलक मिडिया हाउस जोगाउने र रुपान्तरणकारी ठूला पूर्वाधार निर्माणका आयोजनासँगै सामाजिक विकासका क्षेत्रमा नीति, कार्यक्रम तथा बजेट केन्द्रित हुनुपर्नेमा सुझाव दिएका थिए ।
छलफलमा मुख्यमन्त्री कँडेलले लामो समयदेखि बन्न नसकेको आमसञ्चार प्रतिष्ठान, रोजगारमूलक मिडिया हाउसलाई दिने भनिएको अनुदान, लोक कल्याणकारी विज्ञापन तथा पत्रकारहरूको वृत्ति विकासलगायत कार्यक्रमका सन्दर्भमा प्राप्त सुझावका आधारमा अघि बढ्ने बताए । कँडेलले पत्रकारहरुले दिएका सल्लाह तथा सुझावलाई आफुले सकारात्मक तरिकाले ग्रहण गरेको बताए। उनले यसअघिका सरकारले सञ्चालनमा ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।
साथै मुख्यमन्त्री कँडेलले आफूलाई विगतकै सरकारको उत्तराधिकारी भएको र विगतको सरकारले ल्याएका योजनाहरूलाई मूर्तरुप दिन ध्यान दिइने बताए । प्रदेश सरकारको विगत ६ वर्षको लगानी भएकाले ती योजनालाई अलपत्र छाड्न नसकिने उनको भनाइ छ । उनले सबैको राय सल्लाह अनुसार नै अघि बढ्ने आफ्नो चाहना भएकोले पत्रकारहरुबाट सल्लाह लिनको लागि यो कार्यक्रमको आयोजना गरेको बताए ।
योजना छनोट गर्ने तरिका बदल्ने उनको दाबी छ । विगतका सरकारले ल्याउने नीति, कार्यक्रम तथा बजेटमा समेटिने साना आकारका योजनाले विकास बजेटमा प्रभाव परेको उल्लेख गर्दै आगामी बजेटमा बिचौलियामार्फत झ्यालबाट आउने नभई योजना छनोटलाई संस्थागत बनाइने उनले बताए । मुख्यमन्त्री कँडेलले योजना माग्न मन्त्रालय नै आउन नपर्ने बताए । कानुनमन्त्री समेत रहेका कँडेलले आफूले चार वटा विषयलाई प्रमुखताका साथ उठाएको उल्लेख गरे ।
सुर्खेत–हुम्ला र सुर्खेत–डोल्पा सडक र कालिकोट–मुगुको नाग्चेनाग्ला सडकलाई राष्ट्रिय गौरवको योजना घोषणा गरी अलग्गै संरचना बनाइदिन आफूले केन्द्र सरकारलाई अनुरोध गरेको उनको भनाइ छ । कोहलपुर–सुर्खेत सडकलाई फोरलेन सडकमा विकास गर्नुपर्ने कुरा पनि आफूले उठाएको मुख्यमन्त्री कँडेलले बताए । साथै सुर्खेत विमानस्थलको विषयमा प्रदेश सरकार तयार रहेको र केन्द्र सरकारले बनाइदिनुपर्ने उनको भनाइ छ ।
सरकारलाई पूर्णता नदिएको विषयमा उनले जवाफ दिएनन् । उनले तर राज्यमन्त्री बनाइएको विषयमा प्रस्ट पार्दै राज्यमन्त्रीसहित ९ जना देखिए पनि मन्त्रीहरू ८ वटै कायम हुने बताए । बजेट खर्च बढाउने विषयमा आफ्नो ध्यान प्रमुखताका साथ गएको मुख्यमन्त्री कँडेलको भनाइ छ । नीति निर्माण गर्दा केही विगतका कुरालाई समेटेर लैजानुपर्ने भएकाले कपी–पेस्टसमेत गर्नुपर्ने र नयाँ रणनीतिका साथ अघि बढ्ने कुरामा आफ्नो ध्यान गएको उनले बताए ।
साथै मुख्यमन्त्री कँडेलले आफ्नो कतिपय स्वभाव सुधार गरेको भएपनि बाहिर अर्कै तरिकाले प्रचार भएकोप्रति गुनासो व्यक्त गरे । उनले आफू सहज मान्छे भएको बताउँदै आफूलाई एकपटक प्रयोग गरेर हेर्न आग्रह गरे।