२०८३ वैशाख १३ , आइतबार

खड्गदेवी माविमा बालविवाह अभिमुखी कार्यक्रम सम्पन्न



प्रकाश शाही, जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा बालविवाह न्यूनीकरण सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधवार शिवालय-६ टुनीबजारस्थित खड्गदेवी माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरूका लागि विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र बहादुर सिंहको अध्यक्षता र शिवालय गाउँपालिका महिला तथा बालबालिका विकास शाखा प्रमुख प्रतिमा महताराको प्रमुख आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

गाउँपालिकालाई बालमैत्री र बालविवाह मुक्त बनाउने उद्देश्यका साथ विद्यालय र बालकालिकाहरुलाई लक्षित गरेर अभिमुखीकरण कार्यक्रम गरिएको शाखा प्रमुख महताराले बताइन्। उनले बाल विवाह भनेको के हो ?, बाल विवाह सम्बन्धी कानुनी व्यवस्था, बाल विवाह गर्दा कस्तो असर पर्छ ?, यसको न्यूनीकरणका लागि विद्यार्थी, अभिभावक तथा शिक्षकको भूमिका कस्तो हुन्छ ? भन्ने विषयमा छलफल भएको उनले बताइन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वीर बहादुर शाही, व्यवस्थापक समितिका अध्यक्ष चन्द्रसिंह लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा कक्षा १ देखि कक्षा १० सम्मका छात्रछात्रा र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१ जेठ २ गते बुधबार