२०८३ वैशाख १३ , आइतबार

मुख्यमन्त्री ज्यू ! क्षमतावान मान्छे तपाईं कै वरिपरि छन्



चिन्तामणि शर्मा/सुर्खेत

अस्ति मङ्गलवार कर्णाली प्रदेशका मुख्यमन्त्री ज्यूको पत्रकार सम्मेलन रहेछ । बाटो परेकाले भित्र (आन्तरिक मन्त्रालय) पसियो । मुख्यमन्त्री ज्यूका सबै कुरा सुनियो । पहिले जस्तै धेरै कुरा सिधा र प्रष्ट थिए। आफू पनि सिधा कुरा गर्ने भएकोले उहाँका कुरा मन पर्याे । ३/४ वटा सुझाव पनि दिइयो ।

उहाँलाई मैले सुझाव दिँदै भने, ‘कम्युनिस्ट मुख्यमन्त्री हुनुहुन्छ। सरकारमा पूर्ण पकड कम्युनिस्टको पनि छ। कर्णालीवासी सबै मृगौलापीडित, क्यान्सर र कलेजोपीडितहरूका लागि सबै प्रकारको निःशुल्क उपचारको ग्यारेन्टी गर्नुस् !’

कर्णालीको पर्यटनको विकासका लागि भारतका विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूसँग भगिनी सम्बन्धको विकास गर्न पहल गर्नुस्! त्यहाँका सेलिब्रेटीहरुलाई नेपालमा ल्याउने र यहाँका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्न ब्रान्ड एम्बेसडर नियुक्त गर्नुस् ! भारतका विभिन्न ठाउँहरूबाट कर्णालीका लागि सिधा बस सेवा सुरु गर्नुस् !

भारतीय विषादीयुक्त तरकारीमा पूर्ण प्रतिबन्ध लगाईदिनुस ! बबईमा विषादी क्वारेनटाइन स्थापना, एक गाउँ एक कृषि र पशु प्राविधिकहरूको अनिवार्य व्यवस्था गरिदिनुस्। हरेक महिना कृषकको बारीमा पुगेर सिधा मुख्यमन्त्रीलाई खेतीपातीको अवस्थाको रिपोर्टिङ गर्ने व्यवस्था मिलाउनुस् !

अरू त तपाईँले भनेजस्तै गरे पुग्छ। भेरी र कर्णाली कोरिडोर र कालिकोटबाट मुगुको रारा जाने पक्की दुई लेन सडक बनाईदिनुस ! सिँचाइ सुविधा, जग्गा चक्लावन्दी र एकीकृत बस्ती विकास योजना सुरु गर्नुस् !

यसका लागि डेडिकेटेड जनशक्ति चाहिन्छ। त्यसको लागि सयौँ मानिसहरू तपाईं कै वरिपरि छन्। तीनको समुचित उपयोग गर्नुस् ! तर, पत्रकारलाई हिजो उत्तर दिने क्रममा मुख्यमन्त्रीले जागिर माग्ने मात्रै मान्छे देखिन्छन्। क्षमता भएका मान्छे देखिन्नन् भन्नू भयो। यसबारेमा मेरो धारणा भने फरक छ। तपाईँले कर्णालीतिरबाट देख्ने मान्छे भनेको एक जना डा . तिवारी बाहेक अर्को छैन। यसो अलिक फरक ढङ्गले हेर्नुस् त त्यही स्याकमा लामो समय नेतृत्व गरेका टिकाराम आचार्य, कृषि विज्ञ सूर्यनाथ योगी, शिक्षामा लामो समय काम गरेका भक्तबहादुर ढकाललगायत थुप्रै हुनुहुन्छ। अरू पनि धेरै क्षमतावान व्यक्तिहरूको लाइन तपाईँकै पछाडि छ।

मेरै कुरा गर्नुहुन्छ भनेपनि नेपाल सरकारले जान्ने सङ्गठित सङ्घ संस्थाको १२ औँ तहको जागिर खाइसकेको छु । तर म चाहिँ अहिले अलि बिजी छु, मेरो बारेमा चाहिँ अहिले धेरै चिन्ता नलिनु होला। मलाई यतै ठिक छ।

तपाईँले आफ्नो वरिपरि अलि फराकिलो सोच राखेर हेर्नुस् त सयौँ मान्छेहरू देश चलाउने ल्याकत भएकाहरू भरिभराउ छन् । अहिले सुर्खेत बस्छन् भन्दैमा क्षमताविहीन छन् भन्ने सोच राख्नु भएको छ भने त्यो शतप्रतिशत गलत हो ।

२०४६ सालको परिवर्तन पछि नेपालको अर्थतन्त्रको विकास गर्न नेपाली काँग्रेसले महेश आचार्य र रामशरण महतहरूलाई नेपाल झिकायो। उनीहरूले बनाएको योजनाले देश उँभो होइन, उँधो हिँड्यो। तर, नेकपा एमालेले बनाएका अर्थमन्त्री भरतमोहन अधिकारी र विष्णु पौडेलले देशको विकास कसरी गर्ने भन्ने मिसाल छाडेर गएका छन् । भरतमोहन डा. थिएनन् भने विष्णु पौडेल जम्मा एसएलसी पास थिए। यसर्थ डा. को पछि लाग्नुभन्दा भिजनरी मान्छे खोज्नुस् ! कर्णालीको माटो चिनेको व्यक्ति खोज्नुस् !

मुख्यमन्त्री ज्यू, अहिले गाउँ–गाउँमा सडक पुगेको छ । स्टिल पोलमार्फत विद्युत् पनि घरघरमा छ । लिफ्ट प्रणालीमार्फत एक घर एक धाराको खानेपानी, राम्रा विद्यालय भवन छन्। यसो हेर्दा लाग्छ गाउँमा आधारभूत पूर्वाधार पूरा छन् । जनता धेरै खुसी र सुखी हुनुपर्ने हो। तर, धेरैजसो घरमा भोटे ताल्चा लागेको छ । भएका घरमा बूढाबूढी वा गरिब मात्र छन् ।

गाउँको विकास गर्न योजना बने तर विकास पहुँचको भरमा भयो । सडक बनायौँ, तर गाडी छैनन् । एयरपोर्ट बनायौ, प्लेन चल्दैनन्। विद्यालय बनायौँ, विद्यार्थीको सङ्ख्या न्यून छ । गाउँलाई विद्युत्ले झलमल्ल बनायौँ, उपभोग गर्ने मान्छै छैनन् । खेल मैदान बनायौँ, खेलकुद प्रतियोगिता हुँदैन, सयौँ भ्युटावरहरु बनायौँ ।

तर, वर्षमा एक जना पर्यटक पनि आउँदैनन् । पार्क बनायौँ, संरक्षण छैन।  मन्दिर बनायौँ तर पूजा गर्ने पुजारीले संस्कृतको एउटा पनि श्लोक पढ्न जान्दैन। करोडौँ खर्चेर शीत भण्डार बनायौँ, त्यसमा राख्ने उत्पादन छैन । जनताको आवश्यकताभन्दा बाहिरका विकासे योजनाहरू बने । त्यो विकासले जनताको जीवनस्तर उठाउनै सकेन।

देशलाई सिङ्गापुर बनाउने, काठमाडौँका सडक हरेक दिन पानीले धुने सपना त देख्यौँ तर त्यो पानी ल्याउने योजना ५० वर्षसम्म पनि पुरा भएको छैन। हामीले नयाँ नेपाल बनाउने नारा त बनायौँ तर त्यसका लागि चाहिने योजना र कार्यक्रम बनेनन् । विकासका योजनाहरू आवश्यकताभन्दा छोटेबडे नेता र बिचौलियाहरूको पहुँचको आधारमा बने । प्रविधिसँग निपुण कर्मचारी भर्ना गर्ने कानुन छैन । प्रविधिको ज्ञान सीप र दक्षता भएका जनशक्ति विदेश पलायन भइसके।

गत चैत मसान्तसम्म (९ महिनामा) साढे ५ लाखले देश छाडे। उनीहरूलाई देशमै काम गर्ने वातावरण बनाउन सकिएको छैन। सामान्य व्यक्तिहरू खाडी मुलुकतर्फ रोजगारीका लागि हानिएका छन् । कुनैपनि सरकार दिगो रूपमा सञ्चालन हुन सकिरहेको छैन। अब त हरेक महिना सरकार परिवर्तन हुन्छ कि जस्तो देखिरहेको छ। जनतामा चरम निराशा छ ।

देशमा बहुदलीय व्यवस्था स्थापना भएको ३४ वर्ष पुरा भइसकेको छ । गणतन्त्र स्थापना भएको पनि १८ वर्ष पूरा भएको छ । विकासका केही पूर्वाधार खडा भएका छन् । तर गाउँघर शून्य जस्तै छ र त्यो क्रम बढिरहेको छ । राज्यको सम्पत्ति खर्बौँ खर्च भइरहेको छ तर गाउँमा मान्छेको बसाइसराइ तीव्र गतिमा छ । अब कर्णालीको विकासको मोडेल परिवर्तन गर्न जरुरी छ । दक्षिणपूर्वी एसियाका देशहरू जस्तै: जापान, दक्षिण कोरिया, ताइवान, सिङ्गा पुर, मलेसिया आदि देशले आफ्नै प्रकारका विकास मोडेलको विकास गरी समृद्धिको शिखर चुमेका छन्।

मुख्यमन्त्री ज्यू, सन् १९६० को दशकसम्म दक्षिण कोरिया आर्थिक रूपले अत्यन्तै दयनीय अवस्थामा थियो । त्यहाँका जनता गरिबीको रेखामुनि थिए। वन विनाशको कारणले बाढी पहिरोको प्रकोप थियो । विद्युत्, सडक, सिँचाइ, खानेपानी विद्यालय र सञ्चारलगायतका विकासका पूर्वाधार थिएनन् । देशमा भोकमरीको अवस्था थियो । त्यस बेलाको कठिन अवस्थामा सन् १९६३ मा पार्क चुङ ही दक्षिण कोरियाका राष्ट्रपति भए । उनले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धनको ‘नयाँ गाउँ अभियान’ को नीति लागू गरे ।

यस अभियानले ग्रामीण क्षेत्रका जनताको जीवनस्तर सुधार्न सबै मिलेर काम गर्नुपर्ने पाठ सिकायो । सरकारी अधिकारीहरू गाउँलेसँग विकासका साझेदार बने । प्रत्येक गाउँको दिगो विकासमा अभियानका स्थानीय नेताहरू समर्पित भए । उनीहरूले महिलालाई सामुदायिक विकासमा सक्रिय गराए । गाउँमा कृषि, सडक, विद्यालय, स्वास्थ्य चौकीलगायत प्रत्यक्ष उत्पादनसँग जोडिएका योजनाहरू निर्माण गरियो । कृषिमा वैज्ञानिक प्रविधि भित्र्याइयो । प्रत्येक गाउँलाई नगद अनुदानको साटो सिमेन्ट र रडजस्ता सामग्री वितरण गरियो । जनताले श्रमदान गरे । अहिले धरानका मेयरले गर्न खोजेको विकासको मोडेल पनि यही हो। तर उनको प्रस्तुति अराजक र सोच जातिवादी भयो ।

मुख्यमन्त्री ज्यू, ती देशहरूले  सस्तो ब्याजमा उद्यमी तथा व्यापारीलाई ऋण दिने नीति अख्तियार गरे। राष्ट्रिय पुँजीको विकास गरियो। सफल उद्योग, कलकारखाना र व्यवसाय चलाएर निर्यात गर्न सफल उद्योगी र व्यापारीलाई प्रोत्साहन र थप अनुदान दिइयो । आधारभूत विकासका पूर्वाधारहरू बिजुली, सडक, विद्यालय र सञ्चार विकासमा सरकारले जोड दियो । उमेर पुगेका र प्रविधिसँग नजिक नभएका कर्मचारीलाई खुसीसाथ बिदा दिएर प्रविधिमा निपुण प्रतिभालाई नियुक्त गरियो ।

विकसित देश जापान तथा अमेरिकाबाट शिक्षित भएर उतै काम गरेका कोरियाली डाक्टर, इन्जिनियर, प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्तालाई जापान तथा अमेरिकाको जस्तै तलब सुविधा दिने गरी कोरियामा आमन्त्रण गरियो । ती देशको अवस्था हेर्नुस् त

ती देशमा यसबाट त्यहाँका सरकार र कर्मचारीबिच राम्रो सम्बन्ध बन्यो । देशमा तीव्र गतिमा औद्योगिकीकरण भयो । आज कोरियाली अर्थतन्त्रको हिस्सा बनेका कम्पनीहरू पास्को, सामुसङ, एलजी र हुन्डाइको जग त्यही बेला बसालिएको थियो । कोरियामा कच्चापदार्थको अभाव छ, बाहिरबाट आयात गरेर उत्पादन गरिन्छ । दक्षिण कोरिया विश्वको समृद्ध राष्ट्रको लहरमा उभिन सफल भएको छ ।

सन् १९६२ मा दक्षिण कोरियाको प्रतिव्यक्ति आय ८७ अमेरिकी डलर मात्र थियो । आज २० हजार डलरभन्दा बढी छ । सन् १९६३ भन्दा पहिले अरूसँग ऋण लिने कोरिया आज विश्वकै ठुलो दाता बनिरहेको छ । “नयाँ गाउँ अभियान“को मूलमन्त्र भनेकै “हामी गर्न सक्छौँ“ भन्ने हो । यसले आफ्नो जिम्मेवारीको काम आफैँ गर्ने, काम गर्दा सबैसँग मिलेर गर्ने र आफूमा रहेको सीप, ज्ञान र क्षमता अधिकतम उपयोग गर्नमा जोड दिने हो।

त्यसैले, मुख्यमन्त्री ज्यू ! योजना भोग्नेहरूलाई नै बनाउन दिनुस्। हामीलाई जसरी पृथ्वी सुब्बा, खगराज अधिकारी, शङ्कर पोखरेल, हिक्मत कार्कीहरू भन्दा कर्णाली कै तपाई यमलाल कँडेल उपयुक्त लाग्छ, त्यसरी नै तपाईँलाई पनि उता तिरका अर्जनु कार्की, विश्वम्भर नाथ र चिरञ्जीवी नेपालहरू भन्दा पनि मैले माथि उल्लेख गरेका प्रतिनिधिमूलक पात्रहरू ठिक लाग्नुपर्छ। उपयुक्त छनौट गर्ने सदबुद्धि सुर्खेतकी देउती बज्यैले दिउन् ! यो समाचार आजको सिद्धदर्शन दनिकमा प्रकाशित छ । 

प्रकाशित मिति : २०८१ जेठ ३ गते बिहीबार