
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–६ मा ७ सय बढी भुकम्प पीडितलाई राहत सामाग्री वितरण गरिएको छ । प्लान इन्टरनेसनलको साझेदारीमा समाज जागरण केन्द्र (स्याक) नेपालले बुधवार राहत सामाग्री वितरण गरेको हो ।
स्याक नेपालका जाजरकोट कार्यक्रम संयोजक रेशम चन्दकाअनुसार वडाका वीरेन्द्र प्राविका ७८ र कालिका आधारभूत विद्यालयका १ सय २६ जना बालबालिकाहरुका लागि करिब ३ हजार ५ सय बराबरको विद्यालयकिट अभिभावकमार्फत वितरण गरिएको हो । त्यसैगरी एक सयबढी घर परिवारका लागि सरसफाई लगायतका अतिआवश्यक सामान समेत वितरण गरिएको छ ।
गर्भवती तथा सुत्केरीहरुका लागि पोषण युक्त पौष्टिक आहारसहितको खानेकुरा वितरण गरिएको सदस्य खानले जानकारी दिए । त्यस्तै करिब २ सय ५० जना ज्येष्ठ नागरिकलाई बलान्केट, सुइटर, टोपी र अन्य लत्ताकपडा वितरण गरिएको छ । यस्तै २ सय ५० सिकर्मी तथा डकर्मीलाई भुकम्पले क्षति भएका घर उत्खनन तथा पुनर्निर्माणमा प्रयोग हुने बेल्चा, सब्बल, आरा, हतौडा, पिलास लगाएतका सामाग्री वितरण गरिएको संयोजक चन्दले बताए ।
यस्तै एक सय बढी महिला तथा किशोरीहरुका लागि सरसफाइ लगायत अतिआवश्यक आज वितरण गर्ने तयारी गरिएको छ । जाजरकोट तथा रुकुमपश्चिमका विभिन्न पालिकाहरुमा यसरी नै वितरण गरिने स्याक नेपालका कार्यसमिति अकबर खानले बताए । गत वर्ष २०८० कार्तिक १७ गतेको भुकम्पले जाजरकोट र रुकुमपश्चिम गरी १ सय ५७ भन्दा बढिको मृत्यु भएको थियो भने हजारौंको संख्यामा प्रभावित भएका थिए ।