सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुई मन्त्रालय आफैसँग राखेका छन् । एमालेभित्र देखिएको आन्तरिक विवादका कारण यसअघि आन्तरिक मामिला तथा कानून मन्त्रालय आफूसँगै राखेका कँडेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पनि आफूसँगै राखेका हुन् ।
कृषिमन्त्रीमा सिफारिश गरिएका विनोदकुमार शाहले शपथ ग्रहण बहिष्कार गरेपछि मुख्यमन्त्री कँडेलले त्यो मन्त्रालय आफैसँग राखेका छन् । मुख्यमन्त्री कँडेलले वैशाख १८ मा शाहलाई कृषिमन्त्री नियुक्त गरेका थिए । तर उनले मन्त्रालयको जिम्मेवारी लिन अस्वीकार गरेका हुन् । प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को उपधारा ९ अनुसार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर गरेका छन् ।
जसमा मुख्यमन्त्री कँडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ । पूर्वमन्त्री समेत रहेका एमाले प्रदेश सभा सदस्य शाहले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय मागेका थिए । तर मुख्यमन्त्री कँडेलले भौतिक तथा पूर्वाधार मन्त्रालयमा शेरबहादुर बुढालाई दिएका थिए । अन्य मन्त्री र मन्त्रालय भने यथावत राखिएको छ।
एमालेबाट शेरबहादुर बुढा भौतिक पूर्वामन्त्री र गमता विक राज्यमन्त्री छन् । त्यस्तै, नेकपा (माओवादी केन्द्र)बाट महेन्द्र केसी आर्थिक मामिला तथा योजना, दुर्गबहादुर रावत उद्योग, पर्यटन, वन तथा वातावरण, रनसिंह परियार जलस्रोत तथा उर्जा विकास र वीरबहादुर शाही सामाजिक विकासमन्त्री छन् ।