२०८३ वैशाख १३ , आइतबार

रारामा प्लास्टिक प्रतिबन्ध



मुगु । कर्णालीकै उत्कृष्ट पर्यटकीय गन्तव्य राराको सुन्दरता जोगाउन भन्दै प्लास्टिक प्रतिबन्ध लगाइएको छ । भ्रमणमा आउने आन्तरिक पर्यटकले प्लास्टिकको झोला, बोत्तल, प्लास्टिकमा प्याकिङ गरेका बस्तु, चाउचाउका पाकेट ल्याएर रारा ताल छेउछाउ निकुञ्ज क्षेत्रमा फ्याँकेर जाँदा वातावरण प्रदूषित हुन थालेपछि निकुञ्ज प्रशासनले प्लास्टिकजन्य बस्तु ल्याउन प्रतिबन्ध लगाएको हो ।

घुम्न आउने पर्यटकले जथाभाबी प्लास्टिक फालेर जाँदा वातावरण प्रदूषण रारा ताल क्षेत्र फोहोर हुन थालेपछि प्लास्टिक ल्याउन नपाइने निर्णय गरिएको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत राजु घिमिरे बताए । राराको प्राकृतिक सुन्दरता जोगाएर पर्यटकलाई आकर्षित गर्न फोहोर व्यवस्थापनमा ध्यान पुर्‍याउनुपर्ने अवस्था रहेको बताए ।

संरक्षण अधिकृत घिमिरेका अनुसार लामाचौर, सल्लेरी, जेउडे क्षेत्रमा रारा भ्रमणमा आएका पर्यटकलाई चेकजाँचको व्यवस्था मिलाएर प्लास्टिक लैजान प्रतिबन्ध गर्ने र कपडाका झोला लैजान सक्ने व्यवस्था गरिने छ । न्यूनीकरण अभियान संचालन गर्दै आएको भएपनि कार्यान्वयनमा समस्या देखिएपछि नियम नै बनाएर लागु गरेको हो ।

रारा घुम्न आउने पर्यटकले मात्र होइन निकुञ्ज भित्र बस्ने नेपाली सेना, निकुञ्ज कार्यालयका कर्मचारीले पनि प्लास्टिकका झोला, खानेकुराका प्याकेट, खोल लगायतका सामग्री जथाभाबी फाल्न,लिन पाउने छैनन् ।निकुञ्ज भित्र सुरक्षाका लागि सेनाका बिभिन्न पोस्ट राखिएका छन त्यहाँ बस्ने सेनालाई पनि प्लास्टिकका झोलाको सट्टा कपडाका झोला प्रयोग गर्न लगाइनेछ ।

यो अभियानलाई सफल पार्न जानकारी मूलक सूचना बोर्ड, पोस्टर र स्टिकर बनाइ प्रवेश नाकाहरु र भिडभाड हुने स्थानहरुमा राखिनेछ ।निकुञ्ज भित्र प्रवेश गर्ने ४ वटा प्रवेशद्वारहरु सल्लेरी, लामाचौर, ताल्चा, जेउड्या हुन यि स्थानहरुबाट पर्यटकहरु प्रवेश गर्दा र बाहिरिदा चेकजाच कडाइ गरिनेछ ।रारामा पछिल्ला वर्षहरुमा आन्तरिक तथा बाइय पर्यटकहरुको आगमन बढदै गएसङै रारा ताल आसपास क्षेत्रमा फोहोर पनि बढदै गएको छ ।

प्रकाशित मिति : २०८१ जेठ ३ गते बिहीबार