सुर्खेत । दैलेखबाट सुर्खेत आउँदै गरेको बस वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतको कटकुवा नजिक दुर्घटनामा परेको छ। सोमबार दिउँसो कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार उक्त दुर्घटनामा परी दुई जनाकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक बीरेन्द्र वीर बिश्वकर्माले जानकारी दिए ।
मृत्यु हुने एकजना बर्दिया भुरीगाँउका ६५ वर्षीय शेर बहादुर खड्का रहेका छन्। अर्का एकजनाको पहिचान भन्ने खुल्न बाँकी छ । ‘गाडीमा करिब २२ जना रहेकोमा २० जना घाइते भएको बुझिएको छ, अहिलेसम्म मृतक एकजनाको मात्रै पहिचान खुलेको छ, डीएसपी बिश्वकर्माले भने, ‘घाइतेहरुको उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेत र कर्णाली केयरमा लगिएको छ ।’
घटनाको विषयमा अन्य विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ।