
सुर्खेत । किसान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय, चन्द्रनगर र भैरवस्थान सुर्खेतले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सोमवार वीरेन्द्रनगरमा किसान लघुवित्त वित्तीय संस्था सुर्खेतका प्रमुख मोहन कुमार शाहको सभापतित्वमा भएको कार्यक्रमको वीरेन्द्रनगर-४ का वडा सदस्य राम कृष्ण नेपालीले उद्घाटन गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै सदस्य नेपालीले महिला सशक्तीकरणमा लघुवित्तले उल्लेख्य भूमिका निर्वाह गरेको बताए। महिला उद्यमशीलताको विकासका लागि वडाले गृहकार्य गरिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा साना तथा मझौला ब्यापारी कृषक महिलाहरुलाई विशेष गरी लघुबित्त कर्जा र बचत सम्बन्धी व्यवसाय दर्ता, व्यवसाय योजना, कर्जा सदुपयोग, वित्तीय व्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ सम्बन्धि महत्वपुर्ण जानकारी प्रदान गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमका सहभागीले विद्यमान लघुवित्तको समस्या र त्यसको समाधानको विषयमा धारणा राखेका थिए । कार्यक्रममा क्षेत्रीय कार्यालय कोहलपुरका प्रमुख प्रेम बहादुर थापाले संस्थाको विगत र वर्तमान अवस्थाबारे प्रकाश पारेका थिए । कार्यक्रममा क्षेत्रीय कार्यालयका वीरेन्द्रनगरका प्रमुख खेमराज जोशी, गुटु शाखा प्रबन्धक भीमबहादुर खड्का र वड्डीचौर शाखा प्रबन्धक जनक शर्माले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा १२ जना उत्कृष्ट महिला सदस्यहरूलाई पुरस्कारसमेत प्रदान गरिएको थियो । ८६ जनाभन्दा बढि महिला सदस्यहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन मिरा कुमारी शाहले गरेकी थिइन्।