कुलेन्द्र शाही, सुर्खेत । कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मुल्यमा चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ४.२८ प्रतिशत पु¥याउने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षमा पनि प्रदेशले ४.२८ प्रतिशत नै योगदान पु¥याउने अनुमान गरेको थियो । केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार गत आर्थिक बर्षको तुलनामा यस वर्ष कर्णालीको कुल गार्हस्थ्य उत्पादन तेब्बरले बढ्ने अनुमान गरिएको हो ।
कार्यालयले बुधबार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनको मूल्यमा चालु आर्थिक वर्ष २०८०/०८१ का लागि करिब २ खर्ब ४४ अर्ब हुने अनुमान छ । गत आ.व. २०७९/०८० मा करिव रु. २ खर्ब २९ अर्व रहने संशोधित अनुमान गरिएको छ । त्यसैगरी यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आ.व. २०८०/०८१ मा २.३९ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आ.व. २०७९/०८० मा १.९६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ ।
कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धैरै कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान रहेकोे तथ्याङ्क कार्यालयका निर्देशक विनोदशरण आचार्यले बताए । उनका अनुसार यो क्षेत्रको योग्दान २९.५१ प्रतिशत रहेको छ । कर्णाली प्रदेशबाट प्रशासनिक सहयोग सेवा क्षेत्रको योग्दान जिडीपीमा सबैभन्दा न्यून छ । यो क्षेत्रबाट ०.१७ प्रतिशत योगदान रहने अनुमान गरिएको छ । गत आर्थिक बर्षमा पनि कुल गार्हस्थ्य उत्पादनमा कर्णालीबाट कृषि क्षेत्रकै मुख्य योग्दान रहेको थियो ।
कर्णाली प्रदेशमा क्षेत्रगत रुपमा हेर्दा चालु आर्थिक बर्ष २०८०/०८१ का लागि कुल मूल्य अभिवृद्धि दर सबैभन्दा धैरै २२.५२ प्रतिशत आवास तथा भोजन सेवा क्षेत्रको रहने अनुमान छ । सबैभन्दा कम निर्माण क्षेत्रको रहने अनुमान छ । यो क्षेत्रबाट मूल्य अभिवृद्धि दर ऋणात्मक हुनेछ । तथ्याङ्क कार्यालयका अनुसार यो क्षेत्रका मूल्य अभिवृद्धि माइनस ०.०२ प्रतिशत रहने अनुमान छ । गत आर्थिक बर्षमा भने प्रदेशको कुल मूल्य अभिवृद्धि दर सबैभन्दा धेरै विद्युत क्षेत्रको र सबैभन्दा थोरै थोक तथा खुद्रा व्यापार र सवारीसाधन मर्मत क्षेत्रको रहेको थियो ।
चालु आर्थिक बर्षमा प्रक्षेपन गरिएको कुल गार्हस्थ्य उत्पादन अन्य प्रदेशको तुलनामा कर्णालीको सबैभन्दा न्युन हो । चालु आर्थिक बर्षमा सबैभन्दा बढी गण्डकी प्रदेशको जीडीपी ४.४५ प्रतिशत रहेन अनुमान गरिएको छ । यस्तै लुम्बिनी प्रदेशको ४.०५ प्रतिशत, बागमती प्रदेशको ३.९६ प्रतिशत, मधेश प्रदेशको ३.७८ प्रतिशत, कोशी प्रदेशको ३.५१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.४१ प्रतिशत कुल गार्हस्थ्य पुग्ने अनुमान गरिएको छ ।
यस्तै कर्णाली प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ४.२८ प्रतिशत योगदान पु¥याउने अनुमान गरिएको छ । केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक बर्षमा समग्र नेपालको कुल गार्हस्थ्य उत्पादन भने ३.८७ प्रतिशत वृद्धि हुने अनुमान छ निर्देशक आचार्यले विगतका वर्षहरुमा कोभिडका कारण कुल गार्हस्थ्यमा नकारात्मक प्रभाव परेको बताउँदै अब भने निरन्तर बढ्दै गएको बताए ।
उनले प्रादेशिक कुल गार्हस्थ्य उत्पादन तथ्याङ्गका स्रोतहरुमा महालेखा नियन्त्रक कार्यालय, आन्तरिक राजस्व विभाग, नेपाल राष्ट्र बैंक, विभिन्न मन्त्रालय तथा सरकारी निकाय, विभिन्न गैर सरकारी निकाय लगायत रहेको बताए । निर्देशक आचार्यले अर्थतन्त्रको आकार सबैभन्दा सानो कर्णाली भएको जिकिर गरे । कर्णालीको कुल गार्हस्थ्य उत्पादनको हिस्सा ४.३ प्रतिशत मात्रै छ । उनले कर्णालीमा व्यापार ०.६ प्रतिशतले वृद्धि भएपनि खाद्यान्नमै आत्मनिर्भर बन्न नसेकेको बताए ।
यता आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव विष्णुप्रसाद पौडेलले सुर्खेतको विमानस्थल, कोहलपुर सुर्खेत सडक र कर्णाली राजमार्गको विस्तार गरेर आन्तरिक पर्यटक भित्राउन सकेमा कर्णालीमा कुल गार्हस्थ्य उत्पादन बढाउन सहज हुने बताए । चालु आर्थिक बर्षमा कर्णाली प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा एक हजार ६६ अमेरिकी डलर पुग्ने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ । गत आर्थिक बर्षमा कर्णालीको कुल गार्हस्थ्य उत्पादन १०३१ डलर रहेको थियो । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।