
सुर्खेत । भेरीगंगामा गत आर्थिक वर्षमा सिलाई कटाई तालिम लिएका महिलाहरूलाई सिलाई कटाई मेसिन र कृषि तालिम लिएका किसानलाई टनेल वितरण गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत भेरीगंगा नगरपालिका १ र ३ का १० जना किसान र ५ जना उद्यमीहरूलाई प्रविधि हस्तान्तरण गरिएको हो ।
उद्यमीहरूलाई व्यवसायमा थप हौसला प्रदान गर्नका लागि उद्यमीहरूको आवश्यकताको आधारमा काम गर्न इच्छुक भएर पनि मेसिन र टनेल नपाएकाका किसान र उद्यमीहरूलाई स्थलगत अनुगमन गरेर उक्त सामान वितरण गरिएको उद्योग विकास तथा सहकारी शाखा प्रमुख चित्रा कुमारी डाँगी जनाकारी दिइन् । प्रविधि हस्तान्तरण गर्दै भेरीगंगा नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकालले यो कार्य निकै सराहनीय रहेको उल्लेख गर्दै महिलाहरूलाई तालिमको सदुपयोग गरेर आर्थिक अवस्था सुधारमा ध्यान दिन आग्रह गरे ।
उनले सिकेको सिपलाई व्यवसायी रूपमा काम गर्न सकेमा आर्थिक अवस्थामा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास आफूले लिएको बताए । साथै नगर उपप्रमुख धनसरा बोहोराले महिलाको आर्थिक अवस्थामा ठुलो परिवर्तन ल्याउने विश्वास गरिएकोले सिपलाई व्यवहारमा उतारेर रोजगारीमा लाग्न आग्रह गरिन् । उनले उत्पादनमुखी कृषि पेसामा लागेका कृषकहरूलाई नगरपालिकाले सहयोग गर्ने बताउँदै कृषि पेसाबाट स्वरोजगार बन्न सुझाव दिइन् ।
सो अवसरमा तालिमका सहभागीहरूले तालिम सिकाउनुका साथै रोजगारीका लागि मेसिन लगायत सबै सामाग्री दिएकोमा आफूहरू निकै उत्साहित भएको प्रतिक्रिया दिएका थिए । प्रविधि हस्तान्तरण कार्यक्रम नगर प्रमुख ढकालको संयोजकत्व भएको थियो भने नगर उप प्रमुख बोहरा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेल, आर्थिक विकास संयोजक प्रेम बहादुर सारू, वडाध्यक्ष जीत बहादुर सुनार, लेखा अधिकृत मान बहादुर ठाडा, उद्योग तथा सहकारी शाखा प्रमुख डाँगी तथा उद्यम विकास सहजकर्ता लालबहादुर कार्की र सुनिता जैसीको सहजिकरणमा प्रविधि हस्तान्तरण गरिएको थियो ।
