२०८३ वैशाख १३ , आइतबार
किसानको सहारा बन्दै सहास

किसानको सहारा बन्दै सहास : पशुपालनदेखि बजारसम्मको व्यवस्था



कुलेन्द्र शाही, सुर्खेत 

जाजरकोटको शिवालय गाउँपालिकाको ग्रामीण बस्तीमा पछिल्लो समय विभिन्न आयमूलक कृषि व्यवसाय अँगालेका किसानलाई सहयोगी हातहरूको समूह सहास नेपाल पाइला परियोजना सहयोगी बन्दै गएको छ । २०७८ फागुन महिनामा शिवालय गाउँपालिका–३ ऐरेलीमा आफ्नो कार्यालय राखेर काम सुरु गरेको संस्थाले कम आयस्रोत भएका किसानको घरमै गएर उनीहरूलाई सहयोग गर्दै आएको छ ।

सहासले किसानलाई सहयोग गरेपछि शिवालयका कतिपय किसानहरू आत्मनिर्भर बन्दै गएका छन् ।गाउँपालिकाका ९ वटै वडामा रहेका किसानहरूलाई सहासले तरकारी, पशुपन्छी, बाख्रा, माछा वितरण गर्ने गरेको छ । यसले गर्दा त्यहाँका स्थानीयबासी व्यावसायिक कृषि खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत कृषि प्रणालीलाई अवलम्बन गर्दै सामान्य तरकारी, फलफूल, धान, मकै उत्पादन गर्दै आएका किसानहरू हिजोआज प्रविधिको उपयोग गर्दै व्यावसायिकतर्फ अग्रसर देखिएका हुन् ।

निर्वाहमुखी उत्पादनले दैनिक जीवनयापनमा परिवर्तन नआएपछि सहास नेपालको सहयोग तथा परामर्शमा किसानहरूले व्यावसायिक बाटो रोज्दै गएका छन् । किसानले बजारको माग अनुसार मौसमी र बेमौसमी तरकारी, फलफूलहरू उत्पादन सुरु गरेको छन् । उत्पादित बस्तु गाउँपालिकाका बजारहरूमा खपत हुने साथै उनीहरूले उत्पादन गरेको उत्पादित बस्तु सुर्खेत, नेपालगञ्जसम्म जाने गरेका छन् ।

सहास नेपाल शिवालयका प्रमुख हरि प्रसाद अधिकारीले पालिकाको योजनाले मात्र सम्भव नरहेकाले शिवालयका ९ वटै वडामा किसानलाई व्यवसायतर्फ जोड्न सुरु गरेको बताए । ‘खेतीयोग्य जमिन छ, जे लगायो त्यहीँ हुन सक्ने ठाउँ छ, तर पनि हामी मेहनत गरेर खान अल्छी गरिरहेका छौ, प्रमुख अधिकारीले भने, ‘आफ्नो बारीमा केही लगाउन सधैँ सरकारले सहयोग गर्ला र केही गर्छु भन्ने धारणा गाउँघरमा अझै पनि छ, त्यसलाई चिर्न र व्यवसायमा रुचि बढाउन हामीले पालिकासँग समन्वय गरेर काम गरिरहेका छौँ ।’

शिवालयका ९ वटै वडाका ४५ वटा टोलमा ४५ वटा कृषक समूहमार्फत १ हजार १ सय ४९ घरपरिवार लक्षित गरी समूहमार्फत सचेतनासँगै कृषिको आधुनिकीकरण र उत्पादनमा जोड दिएको छ । संस्थाले सन् २०२५ सम्म निरन्तर काम गर्ने बताउँदै प्रमुख अधिकारीले किसानका सानातिना सिचाई समस्याको समाधान, खेर गएको पानीको सदुपयोग, विउँविजन, उत्पादन, व्यावसायिकीकरण, खाद्य सुरक्षालगायतका क्षेत्रमा आफूहरूले काम गरिरहेको बताए ।

उक्त परियोजनाले कार्यक्षेत्रका कुपोषित बालबालिकालाई सुपोषित बनाउने, कृषिलाई पूर्णरुपले व्यवसायीकरण, खाद्य सुरक्षा, नश्ला सुधार, बिउँ बोका वितरण, सोलार, बाल्टिन, टनेल, अदुवा खेती, कृषि सङ्कलन केन्द्र स्थापना कामलाई प्रोत्साहन दिने गरेको सहास नेपालका कृषि प्राविधिक योगेन्द्र सिंहले बताए । उनकाअनुसार सहास नेपालले निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन समेत गर्ने गरेको छ ।

शिविरमा पशुहरूको चेकजाँच, पशुजन्य रोगहरूको परीक्षण, पशु रोगबारे परामर्श, बोका बन्ध्याकरण, औषधी र घाँस वितरण लगायतका सेवाहरू उपलब्ध गराइने गरेको प्राविधिक सिंहले बताए । किसानलाई बीउ विजनदेखि मलखाद हुँदै कृषि उपकरणमा सहयोगसमेत भइरहेको छ । साथै महिलाहरूको समूह बनाएर बीउ विजन, कुखुरा, बाख्रा लगायत सहयोग गर्ने गरेको छ भने महिनामा रकम जम्मा गर्ने महिलाहरूको समूह समेत बनाएको छ ।

परियोजना सञ्चालन भएसँगै स्थानीय भने उत्साहित भएका छन् । परम्परागत खेतीबाट दुई छाक गर्जो टार्नसमेत मुस्किल भएको बेला आफूले खाएर केही रुपैयाँ आम्दानीसमेत गर्न सफल भएको किसानहरूको भनाइ छ । किसानहरूले यस्ता कामलाई निरन्तरता दिन सहास नेपाललाई आग्रह गरेका छन् ।

किसानसँगै विद्यालयमा सहयोग

सहास नेपाल पाइला परियोजनाले शिवालय गाउँपालिकाका किसान मात्र नभई विभिन्न विद्यालयहरूमा समेत सहयोग गर्ने गरेको छ । शिवालयका सामुदायिक विद्यालयहरूमा सहास नेपालले आर्थिक सहयोग गरेर विभिन्न जनचेतनामूलक कार्यक्रम, वक्तृत्वकला, हाजिरी जवाफ, भलिबललगायतका प्रतियोगिताहरू सञ्चालन गर्ने गरेको छ । यस्तै संस्थाले विद्यालयमा भएको फोहोर व्यवस्थापनको लागि स्थानीय स्तरमै बासले बुनेका डस्बिनसमेत वितरण गरेको छ ।

कृषिको चपेटामा जुधिरहेका कृषकलाई मोबाइल एप्स तालिम
यस्तै परियोजनाले शिवालयका कृषकहरूलाई मोबाइल एप्स सम्बन्धी तालिम समेत प्रदान गरिएको छ । जलवायु परिवर्तन विपद् र कृषिको चपेटामा जुधिरहेका शिवालयका कृषकहरूलाई परियोजनाले पालिकामै पहिलो पटक दिएको थियो । तालिमले शिवालयका कृषकहरूलाई मोबाइलबाट कृषि सम्बन्धी एप्सहरु प्रयोग गरेर खेती प्रविधि, बालीमा लाग्ने रोग किरा नियन्त्रण, पशु बस्तुमा लाग्ने रोग नियन्त्रण र विभिन्न बाली लगाउने समय र तरिकाको बारेमा जानकारी पाएका थिए ।

शिवालयका ५६ जना कृषकहरुलाई मोबाइल एप्स तालिम

कृषकहरूका लागि घरमै बसेर विभिन्न सूचना तथा कृषकका समस्याहरूको समाधान हुने भएकाले पनि कृषकहरू मोबाइल एप्समा आकर्षित हुन थालेका छन् । यसले कृषकहरूलाई निकै सहज भएको छ । तालिम लिएकी सिता खड्काले मोबाइलबाटै मौसमबारेमा पूर्व जानकारी थाहा पाउनुका साथै आफ्नो बालीनालीलाई पनि जोगाउन सकिने कुरा आफूले तालिम लिइसकेपछि धेरै सहज भएको बताइन् ।

के भन्छन् किसान ?
सामुदायिक परिचालन र किसानको घर आँगनमा कृषि प्राविधिकको नियमित उपस्थितिले कृषकहरूमा प्राविधिक ज्ञान बढेको र समस्या समाधानमा सजिलो भएको छ । जलवायु परिवर्तनका कारण कृषकहरूमा पर्ने समस्या कम गराउनका लागि उपलब्ध हुने थोपा सिँचाइ, प्लास्टिक घर, खेर जाने पानी सङ्कलन टङ्की , पशुमुत्र सङ्कलन र तरकारी खेतीमा प्रयोग सौर्य ऊर्जा, सुधारिएको धुवाँरहित चुलो, उन्नत कृषि औजार र मौसमको पूर्वानुमान म्यासेज आउने गर्नाले आफूहरूलाई निकै सहज भएको किसानहरू बताउँछन् ।

बाख्रापालन, कुखुरापालनलगायतका आयआर्जन बढाउने क्रियाकलापहरू समूहको कार्य योजनाअनुसार सहयोग भइरहेको उनीहरूको भनाइ छ । समुदाय सँगसँगै रहेर काम गर्ने र समुदायको आवश्यकताहरूलाई सम्बोधन गरी काम गर्ने भएकोले गाउँपालिकाले पनि सहयोगी साझेदारको रूपमा लिएको बताएको छ ।

 

वडा विपद् व्यवस्थापन समितिको क्षमता विकास, आवश्यक विपद् प्रतिकार्यका सामाग्रीहरू प्रहरी चौकी र समुदायमा पनि हस्तान्तरण गरेको छ । यस्ता स्थानीय सरकारले गर्नुपर्नेमा सहास नेपालले गरिदिएर समुदायले फाइदा पाएको किसान पालिका तथा वडाध्यक्षहरूको भनाइ छ ।

जलवायु उत्थानशील गाउँपालिका बनाउने योजना
परियोजनाले मुख्य गरेर जलवायु परिवर्तन र विपद् व्यवस्थापनका क्षेत्रमा समुदाय र सरोकारवालाहरूको क्षमता अभिवृद्धिको काम र जलवायुमैत्री कृषि प्रविधिमार्फत समुदायको जीविकोपार्जनमा सुधार गर्न सहयोग गर्ने काम गरिरहेको छ ।

जलवायु मैत्री र महिलामैत्री कृषि प्रविधि बिस्तारसँगै शिवालय गाउँपालिकालाई जलवायु उत्थानशील गाउँपालिका बनाउने मुख्य लक्ष्य र योजना रहेको प्रमुख अधिकारीको भनाइ छ । यसैलाई पुरा गर्न परियोजनाले शिवालय गाउँपालिकासँग समन्वय गरेर काम गरिरहेको छ ।

किसान र विद्यार्थीमा देखियो फरक
किसानहरूमा सहास नेपालले काम थालेपछि धेरै कुरामा सहज फरक भएको शिवालय गाउँपालिकाका किसान सागर विक बताउँछन् । उनी भन्छन् ‘विगतमा भन्दा अहिले घर बगैँचा तयारीमा समुदायको सक्रियता बढेको छ । जलवायु परिवर्तनको कारण र असर बुझ्न सक्ने भएका छौँ ।’ त्यति मात्रै नभई दिगो कृषि प्रणालीका लागि स्थानीय रैथाने बालीको संरक्षण गर्न तर्फ आफूहरू लागेको उनी बताउँछन् ।

अर्का किसान कमला पुनः प्लास्टिक घरमा खेतीलाई निरन्तरता दिने सुरुवात भएको साथै यसले महिलाहरूको आम्दानीको श्रोत बढाउन सहयोग पुगेको बताउँछिन् । यस्तै परियोजनाले किशोरी संवाद सञ्चालन समेत गरेको छ । यसले गर्दा समुदायमा रहेका व्याप्त कुसंस्कार कुरीति छुवाछुत, बालविवाह न्यूनीकरण, विद्यालय निरन्तरता लगायतमा किशोरीहरूको निकै सक्रियता बढेको किशोरी संवादकी अध्यक्ष कमला परियार बताउँछिन् । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।

तस्बिरहरु हेर्नुहोस् –

 

प्रकाशित मिति : २०८१ जेठ १२ गते शनिबार