
कुलेन्द्र शाही, सुर्खेत
केही दिनयता अत्यधिक गर्मी बढेसँगै सुर्खेतबासीको जनजीवन प्रभावित बनिरहेको छ । अत्यधिक गर्मीसँगै खानेपानीको चरम सङ्कट र अनियमित ‘लो भोल्टेज’ विद्युत्को कारण प्रदेश राजधानीको बसाइ असहज बन्दै गएको हो । तराईका जिल्लासँग सिमान जोडिएका पहाडी जिल्लाको जनजीवन पनि दिनप्रतिदिन उकुस–मुकुस हुँदै गएको छ ।
तातो हावा र चर्को घामले घरबाहिर हिँडडुल गर्न समस्या भएको छ । गर्मीले सबैभन्दा बढी स्कुले बालबालिका, वृद्ध र दिनभरि काम गरेर खाने मजदुरहरूलाई प्रभावित पारेको छ । अत्यन्त चर्को घाम र छहारीमा बस्दासमेत तर्तरी पसिना आउने प्रचण्ड गर्मीले सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्दै गएको हो ।
सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । बेला–बेलामा सामान्य वर्षासँगै हावाहुरी चलेपनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ गर्मी बढ्न थालेको छ । चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् ।
गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको संख्या पनि घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् ।
बन्द हुँदै विद्यालय
सुर्खेतमा दिनप्रतिदिन गर्मी बढ्दै गएपछि वीरेन्द्रनगर भित्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । अत्याधिक गर्मी बढेपछि सुर्खेत वीरेन्द्रनगरभित्रका सबै विद्यालयहरु आइतबारदेखि एकहप्तासम्म बन्द हुने नगरपालिकाले जनाएको छ । गर्मीले बालबालिकाहरुको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको नीजि विद्यालयहरुको छाता संगठन प्याव्सन सुर्खेतका अध्यक्ष बेद प्रकाश ढकालले बताए ।
समयमा पानी नपर्दा र अत्यधिक गर्मीले गर्दा कक्षाकोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको छ । समयसमयमा विद्युत् सेवा अवरुद्ध हुँदा पनि विद्यार्थीमा झनै समस्या देखिएको छ । गर्मीका कारण नानीबाबुलाई विद्यालय पु¥याउन र ल्याउनै समस्या पर्ने गरेको विद्यार्थीका अभिभावहरु बताउँछन् ।

चिसो पेयपदार्थको माग बढ्दै
यस्तै गर्मी बढेसँगै बजारमा चिसो पेयपदार्थको माग बढेको छ । अहिले गर्मी बढेसँगै चिसो पेय पदार्थको बिक्री पनि बढेको छ । साथै चोकचोकमा राखिएका आइसक्रिम लगायत पनि राम्रो मात्रामा विक्री हुने गरेको छ । अहिले बजारमा उखुको जुस, सर्बत, बरफ, कुल्फी, आइसक्रिमको व्यापार पनि एकाएक बढेको छ ।
बुलबुले चौकमा आइसक्रिम बेच्दै आएकी ३४ वर्षकी धनसरा शर्माले पछिल्लो केहीदिन यता आइसक्रिम राम्रो मात्रामा विक्रि भएको बताइन् । ‘हिजो अस्तितिर दैनिक २५ सय कमाउथे, तर आजभोलि घरमा गएर हिसाब गर्दा दैनिक ४ हजारभन्दा बढी कमाई भएको हुन्छ, उनले भनिन् ।’
यस्तै वीरेन्द्रनगर–६ गोदामलाइनमा होटेल सञ्चालन गर्दै गरेका कमल शाहीले हिजो आज चियो पेय पदार्थको बिक्रि वितरण बढेको बताए । गर्मी बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको पाइन्छ ।
मजदुरहरुलाई समस्या, पानीको अभाव
अचाक्ली गर्मीका कारण दिउँसोमा काम गर्ने मजदुरहरुलाई निकै समस्या भएको छ । दिउँसोमा तातो हावा चल्ने गरेका कारण घरबाहिरै निस्कनै समस्या हुने गरेको सडकमा काम गर्ने मजदुर कृष्ण विकले बताए । चर्को गर्मी र तातो हावा ‘लू’ चल्दा बाहिर काम गरेर जीविका चलाउन आफुहरुलाई निकै समस्या भएको उनको भनाइ छ ।
‘काम गरौँ दिउँसोमा गर्मीले पोल्छ, नगरौँ घरमा चुलो बाल्ने अवस्था हुन्न’ उनले भने, ‘यस्तै गएको वर्ष जसरी नै यस वर्ष पनि वीरेन्द्रनगरमा खानेपानीको समस्या देखिएको छ । गएको वर्ष पनि खडेरीको समयमा वीरेन्द्रनगरमा पानीको समस्या देखिएको थियो । यहाँ २÷३ दिनमा पनि पानी नआउने गरेका गुनासो स्थानीयको छ ।
जाजरकोटबाट अध्ययनको लागि सुर्खेत आएका रुद्र शाही वीरेन्द्रनगरमा पानीको निकै अभाव भएको बताउँछन् । ‘पहिले खजुरा कोठा लिएर बस्थे, त्यहाँ पानी आएन्’ अहिले पिपिरा बस्छु त्यहाँ पनि त्यस्तै समस्या छ, ‘दैनिक पानी आउँदैन् कहिले कुनै समयमा आउँछ कहिले कुनै समयमा अब फेरी पानी पाउने ठाउँतिर कोठा सार्ने निर्णय गरेको छु ।’
उनी मात्रै होइन यहाँ बसोबास गर्ने अधिकांशको समस्या यस्तै छ । कतिपय मानिस भने कोठामा पानी नआउँदा बुलबुलेको धारामा नहाउन तथा कपडा धुन जाने गरेका छन् ।
अस्पताल आउने बिरामीको संख्यामा वृद्धि
गर्मीका कारण घाउ, खटिरा, आउँ, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन् । गर्मीले विद्यालय जानुपर्ने स–साना बालबालिकासँगै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन् ।
प्रदेश अस्पताल सुर्खेतका सुचना अधिकारी डा. बिनोद बस्नेतले अहिले दैनिक भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन् । पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेको अधिकारी बस्नेतको भनाइ छ ।
केही दिन पहिले दैनिक ८ सयको हाराहारीमा बिरामी आउने गरेकोमा एकदुई दिनदेखि १ हजार बढी बिरामी आउने गरेको उनले बताए । उनले अघिका शुक्रबारमा ६/७ सय बिरामी आउने गरेकोमा गर्मी सुरु भएकाले हिजोको शुक्रवार ८÷९ सय बिरामी आएको जानकारी दिए ।
‘केही दिनअघि सम्म ८ सयसम्म बिरामी आउनुहुन्थ्यो आजभोलि त १ हजार बढी बिरामी आउनुहुन्छ ।’ उनले सिद्धदर्शनसँग भने, ‘गर्मी सुरुभएसंगै बिरामीहरूको संख्या पनि बढ्दै गएको छ।’ उनले केहीदिन अघि पानी परेकोबेलामा बिरामीको संख्या घटेपनि आजभोलि फेरी अस्पतालमा बिरामीको भीड लाग्ने गरेको बताए ।
दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने गरम हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको डा. बस्नेतको भनाइ छ । बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानीलगायतका तरल पर्दाथको सेवनलाई बढाउनुका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन उनले सर्वसाधारणलाई सुझाव दिए ।
विद्युतमा पनि समस्या उस्तै
चिकित्सकहरुले गर्मीको समयमा घरभित्रै बस्न आग्रह गरेका छन् । तर अनियमित विद्युत् र खानेपानीको अभावका कारण घरभित्रको बसाइसमेत सहज छैन । प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा विद्युत् अनियमित र ‘लो–भोल्टेज’ले नागरिकको दैनिक जनजीवनमा प्रत्यक्ष प्रभाव परिरहेको छ ।
‘लो भोल्टेज’का कारण पंखा पनि राम्रोसँग नचल्ने यहाँका स्थानीयहरुको गुनासो छ ।जसको चर्काेभार स्थानीयवासी र उद्योगी व्यवसायीहरूले व्यहोरिरहेका छन् । यहाँ छिनछिनमा विद्युत् लाइन काटिने र बत्ती आउँदापनि लो भोल्टेज हुने समस्याले सेवाग्राहीलाई निकै समस्यामा परेको छन् । मिनेट मिनेटमा जाने र घण्टौँसम्म तथा दिनभर बिजुली नआउने हुँदा कर्णालीमा गर्मीले बस्नै नसक्ने अवस्था छ ।
अनियमित र लो भोल्टेजले विद्यार्थीहरूलाई सास्ती भएको छ । साथै लो भोल्टेजले विद्युतबाट चल्ने उद्योग, छापाखाना, सञ्चारमाध्यम, बैंक तथा वित्तीय संस्थामा समेत समस्या देखिएको छ । विद्युत प्राधिकरण केन्द्र सुर्खेतका प्रमुख अशोक लोहनी निरन्तर विद्युत जाने समस्या समाधानका लागि आफुले निरन्तर काम गरिरहेको बताउँछन् । उनीले बड्डीचौरमा राखिएका पोलहरू त्यहाँका जनताले उखेलेर फालेको हुँदा पनि विद्युत नियमित हुन नसकेको बताए । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ।