
सुर्खेत । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्रका समस्या समाधान गर्दै ०८४ काे चुनावमा कांग्रेस एक्लै चुनाव लड्ने र बहुमतकाे सरकार बनाउने गरी लागेको बताएका छन्। आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
नेता निधिले पार्टीभित्र वितृष्णा पैदा भएकाे बताए। पार्टीभित्रकाे असन्तुष्टि र असहमतिलाई सहज बनाउनका लागि देशभरनै छलफल र भेटघाटकाे काम अघि बढाइएको उनको भनाइ छ । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘पार्टीभित्रकाे समस्याहरु समाधान गरिनुपर्छ भनेर म कर्णालीमा आएकाे हुँ ।’
उनले पार्टीभित्र गुटबन्दीकाे व्यवस्थापन विचारकाे आधारमा समाधान गर्नुपर्ने बताए । निधिले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुकाे कारण राष्ट्रिय राजनीतिमा समस्यालाई आइरहेकाे बताए । यसअघि चुनावमा माओवादीसँग गठबन्धन गरेर गएपनि त्याे टिक्न नसकेकाे उनले बताए।
पहिलो चरणमा प्रचण्ड, त्यसपछि माधव नेपाल र अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति भएपनि प्रधानमन्त्री प्रचण्ड त्यसमा टिक्न नसक्दा गठबन्धन टुटेकाे उनकाे भनाइ छ। निधि कर्णालीकाे दैलेख, कालिकोट, जुम्ला र मुगु जिल्लामा जाने र पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।