
सुर्खेत । श्रमिक र रोजगारदाताहरूलाई जोड्ने योजनासहित कर्णाली प्रदेशमा श्रमाधान रोजगार मेला आजदेखि सुरु भएको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कर्णाली प्रदेश सरकार सुर्खेत र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजनामा मेला शुक्रवारदेखि वीरेन्द्रनगरस्थित सिटी हलमा सुरु भएको मेला शनिवारसम्म चल्नेछ ।
आन्तरिक रोजगारी प्रवर्द्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने श्रम र रोजगारको क्षेत्रमा रहेका बहुआयामिक समस्याहरूलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्दै रोजगारीको लागि अनुकूल वातावरण सिर्जना गने उद्देश्यसहित नेपाल सरकारले देशका सबै प्रदेशमा श्रमाधान रोजगार मेला गर्ने कार्यक्रमअनुसार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय मेला सुरु भएको मन्त्रालयका फोकल पर्सन उपसचिव टिकाराम ढकालले जानकारी दिए ।
मेलामा सरकारी ८ र निजी क्षेत्रका ३२ गरी ४० वटा विभिन्न प्रकारका बुथ तथा स्टलहरू रहेका छन् । मेलामा बायोडाटा निर्माण सिकाइ, होटल, रोजगारसम्बन्धी तालिम प्रदायक संस्था, बैंक तथा वित्तीय संस्था, तथा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विभिन्न रोजगारदातासँग सम्बन्धित, वैदेशिक रोजगारलगायतका स्टल तथा बुथहरू छन् ।
मेलामा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल, कर्णाली मुख्यमन्त्री यामलाल कँडेल लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको छ ।


