
कराँते खेलाडी एलिशा रास्कोटी मगर
कुलेन्द्र शाही, सुर्खेत
सुर्खेतको वीरेन्द्रनगरमा जन्मिएकी एउटा चेली छन् एलिशा रास्कोटी मगर । सानैदेखि खेल क्षेत्रमा चासो राख्ने मगर अहिले उत्कृष्ट कराँते खेलाडी बनेकी छिन् । उनलाई सानैदेखि खेल क्षेत्र मन पर्ने गथ्र्याे । उनका घरमा बाबा ममी, भाइ, बहिनी र र उनी छिन् । आफूलाई खेल क्षेत्र मनपर्ने भएपनि उनका घरपरिवारले भने खेल क्षेत्र मन पराएका थिएनन् ।
घरका परिवारले खेलक्षेत्र गाह्रो भएको बताउँदै उनलाई खेल क्षेत्रमा नजान आग्रह गर्थे । जब उनका बुवा विदेश गएपछि उनको खेल क्षेत्र सुरु भयो । बाबा विदेश गएपछि रास्कोटीले भाइ र आफुले आमालाई फकाएर खेलको टे«निङ गर्न जाने निर्णय गरे । उनीहरूले आफूहरू गेम खेल्न जान्छौ भनी आमालाई प्रस्ताव राखे । तर उनकी आमाले उक्त प्रस्ताव अस्वीकार गरिन् ।
उनीहरूले पुनः आमालाई साथीहरू पनि गेम खेल्न जाँदैछन् हामी पनि जान्छौ भनेर आग्रह गरे । आमाले साथीहरू गएको सुनेपछि उनीहरूलाई जान दिइन् । उनले साथीहरूले गेम खेल्छन् मपनि खेल्छु राम्रो हुन्छ भन्दै आमालाई बलजफती गरेकी थिइन् । उनकी आमा र बाबाले केटी मान्छेले यस्तो खेल्नु हुँदैन भन्दै उता धेरै बहना बनाउथे ।
बाजेले पनि हुँदैन यस्तो गाह्रो गेम केटी मान्छे भएर खेल्नु हुँदैन भन्दै उनलाई नखेल्न आग्रह गर्थे । तरपछि ८ वर्षको भाइले खेल्छु खेल्छु भनेपछि भाइसँगै उनले पनि जबरजस्ती ममीलाई फकाएर टे«निङ गइन् । उनले निरन्तर टे«निङ गर्दै गइन् । सुरुमा त उनलाई निकै डर लाग्ने लागेको थियो । उता उनका बुवा गेम खेल्न गएको भन्दै रिसाएर धेरै समयसम्म बोलेका समेत थिएनन् ।
उनका बुवा केही समयपछि नेपाल आए । बिहान पनि टे«निङ बेलुका पनि टे«निङ दिउँसो विद्यालय जाने घरमा काम केही पनि नगर्ने भएपछि बुबा निरन्तर उनीसँग रिसाइरहेका थिए । तरपनि कहिले काहीँ त टे«निङमा पनि जान दिन्थिएनन् । टे«निङ दिने गुरु उनका आफ्नै भिनाजु पर्थे । गुरु (भिनाजु) घरमै आएर बुबालाई टे«निङ छ भनेर फकाउँथे ।
गुरुले घरमै आएर उनको टे«निङ छ भनेर निकै फकाउँथे । गुरुले फकाएपछि उनका बुवाले उनलाई गेममा जान दिन्थे । त्यति मात्रै होइन कहिले काहीँ उनका बुवासमेत गेम हेर्न जाने गर्थे । उनले सुरुमा १६ वर्षमा काठमाडौँमा अन्तराष्ट्रिय स्कुलमा स्कुल स्तरीय गेम खेलेकी थिइन् । त्यसपछि उनले दोस्रो गेम नेपालगञ्ज रङ्गशालामा खेलिन् ।
उनले यसरी नै निरन्तर गेम खेल्दै गइन् । उनले तेस्रो गेम बागलुङ खेलिन् । चौथो गेम खेल्ने बेलामा उनको हातमा चोट (क्रेज) लाग्यो । मगरले पहिले त ठुलो ठुलो खेलाडीहरू हेर्नसमेत पाएकी थिएनन् । पछि उनले गुरुलाई आएर अरूले गर्न सक्छन् भने मैले किन गर्न सक्दिन भन्दै आफुले पनि गेम खेल्ने निर्णय गरिन् । मगरले गुरुलाई बिहान र बेलुका टे«निङ गराइदिनु आग्रह गरिन् ।
उनको त्यति बेलाको समयमा हात प्लास्टर गरिएकै थियो । हात पलाष्टर गरेकै भएपनि उनले नियमित टे«निङ लगेकी थिइन् । हातमा प्लास्टर भएकै समयमा फेरि ८औँ गेम दाङको भालुवाङमा हुने कुरा भयो । गेम हुँदै गर्दा उनी उक्त गेममा सहभागी भइन् । दाङमा भएको कृष्णप्रसाद भट्टराई स्मृति कराँतेमा उनी दोस्रो भइन् ।
उनी कर्णाली प्रदेशबाट पदक जित्ने एक मात्र खेलाडी बनिन् । त्यसपछि उनी पुनः काठमाडौँमा एनआरएनको गेम खेल्न गइन् । गुरुले उनलाई मेहनत गरेर गेम खेल नतिजा राम्रै आउँछ भने । उनले निरन्तर गेम खेल्दै गइन् । त्यसपछि ९औ गेम फेरि पोखरामा भयो । त्यहाँ सिगंल फाइटमा उनी तेस्रो भएको सम्झिन्छिन् । एकल कातामा रजत पदक जितेको उनी बताउँछिन् ।
फाइनलमा हारे पनि जितभन्दा बढी उनलाई खुसी लाग्यो । झण्डै ६ वर्षको खेल जीवनमा आफूलाई राष्ट्रिय स्तरमा जितेको त्यो नै पहिलो ठुलो पदक भएकाले आफूलाई निकै खुसी उनले सुनाइन् । आफूलाई फाइनलमा हारेकोमा कुनै पिर चिन्ता नभएको उनको भनाई छ । उनले सामान्य खेलाडीसँग होइन, तीन वर्षअघि १३औँ दक्षिण एसियाली खेलकुदमा एकल कातामा देशका लागि रजत पदक जितेकी चन्चला दनुवारसँग फाइनलमा हारेकी थिइन् ।
त्यसले गर्दा पनि आफूलाई हार्नुमा कुनै नरमाइलो नभएको मगर बताउँछिन् । उनले १० खेलाडीको सहभागिता रहेको एकल काताको फाइनलमा चन्चलालाई कडा चुनौती पेस गरेकी थिए । चन्चलाले २४.५० अङ्क प्राप्त गर्दा उनले २३.६८ अङ्क जोड्न सफल भएकी थिइन् । आफूले पदक जित्न नसके पनि उनको पदकमा कर्णालीका अन्य खेलाडी समेत खुसी थिए ।
असोज–कात्तिकमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा कांस्य पदक जितेकी उनले त्यहाँबाट सफलता प्राप्त गर्न सकिन्छ भन्ने विश्वास नै गरेकी थिइनन् ।
पदक जितेपछि उनले फोन गरेर आमासँग खुसी साटिन् । आफुले काता र कुमुते दुवैमा अभ्यास गर्ने गरेको खेलाडी मगरले बताइन् । उनी आफूलाई कुमुतेभन्दा कातामा राम्रो गर्न सक्ने विश्वास व्यक्त गर्छिन् । उनी भविष्यमा पनि कातामै केन्द्रित हुने बताउँछिन् ।
कोरोना महामारी वरदान
सुरुमा कोरोना महामारी समय आफ्नो लागि वरदान भएको उनी बताउँछिन् । कोरोनाका कारण देशव्यापी लकडाउनकै समयमा उनले कराँतेमा आफूलाई अझ बढी निखार्ने मौका पाइन् ।सुरु–सुरुमा सबै घरभित्रै सीमित भए । घर बस्दा–बस्दा सबैलाई दिक्क लाग्न थालिसकेको थियो । प्रशिक्षक पनि अभ्यास गराउन नपाउँदा र घरमा सीमित भएर बस्नुपर्दा दिक्क भएका थिए ।
आफूलाई च्याटमा कुराकानी हुँदा घरमै प्रशिक्षण गर्ने उनका गुरुहरूले सल्लाह दिन्थे । त्यसपछि आफुले एक वर्ष जति घरमै अभ्यास गरिन् । घर पछाडि पहिला कुखुरा पालेको खोर थियो । त्यही सफा गरेर त्यसमै उनले प्रशिक्षण गर्न थालिन् । झण्डै डेढ वर्ष मगरले त्यसरी नै प्रशिक्षण गरिन् ।
त्यही बेलाको मेहनत उनको अहिले काम लागेको छ । दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना हुने घोषणा भएपछि उनी निकै खुसी भएको बताउँछिन् । आफ्नै ठाउँमा राष्ट्रिय खेलकुद हुँदा अझ मिहिनेत गर्ने र अबको दशौँ राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने उनको ठुलो सोच छ ।
कर्मचारी बन्ने लक्ष्य त्यागेर खेलाडी
कराँते खेलाडी मगर आफू गेमबाट सन्तुष्ट भएको बताउँछिन् । ‘गेमबाटै राम्रो नाम कमाउने सोचमा छु ।’ उनी भन्छिन् ‘अहिले घरपरिवारले पनि राम्रै साथ दिनुभएको छ, सुरुमा घरपरिवारले मलाई बैङ्कको कर्मचारी बनाउने सोच्नुभएको थियो । मलाई बुबाले लोकसेवाको तयारी गर यसमा राम्रो हुँदैन भन्नुभएको थियो । मैले पनि गेम बिग्रेको बेला त हुन्छ म गर्छु भने पछि गेम राम्रो हुँदै गयो त्यसमा मेरो केही इच्छा जागेन ।’
उनले आफुले पनि पहिले त बैङ्कको कर्मचारी हुने सोच राखेको बताइन् । खेल क्षेत्रमा आफुले राम्रो गर्न सक्दिन भनेर हार खाएर पढाइमा ध्यान दिएको बताइन् । उनले हार खाए पनि गेमलाई चटक्कै बिर्सन भने सकेकी थिइनन् । ‘गेमलाई चटक्कै बिर्सन सकेको थिएन, दुई तिरै लाग्छु भनेर पढाई र गेममा लागे । जुनमा राम्रो हुन्छ गर्छु सोचे ।’ उनले भनिन् ‘फेरी गाउँबाट आएको साथीहरूलाई सिलाई कटाइ सिकेको देखे । मलाई पनि कस्तो सिलाइकटाई सिक्न मन लाग्यो भनेर घरमा कुरा राखे, तर घरबाट त्यो काम पनि सिक्न दिनुभएन ।’
केही समयपछि उनका साथीहरूले गेम खेलेको देखेर आफूलाई पनि गेम खेल्न मन लागेको उनी बताउँछिन् । बुवाको सर्पोट नभए पनि ममीले आफूलाई धेरै नै सहयोग गरेको उनी सम्झन्छिन् । गेम खेलेर राम्रो गरेपछि अहिले बुबाले पनि खुलेर सर्पोट गर्ने गरेको उनको भनाइ छ । उनले हालसम्म ९/१० वटा प्रतियोगितामा भाग लिएकी बताइन् । उनको अबको उद्देश्य भनेको दशौँ राष्ट्रिय खेलकुदमा भाग लिने र २०२६ मा हुने एसियन गेममा मेडल प्राप्त गर्ने छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।