२०८३ वैशाख १३ , आइतबार

एक सय वर्ष आयु भएको झोलुङ्गे पुल २२ वर्षमै भत्कियो

२ खच्चडको मृत्यु, ११ को सकुशल उद्धार


कुलेन्द्र शाही, सुर्खेत

आइतवार दिनभर एउटा तस्बिर निकै भयावह भयो । तस्बिर हो, झोलुंगे पुल चुँडिएर  पुलमै अड्किएको । तस्बिर सामाजिक सञ्जालमा भाइरल मात्रै होइन सरकारको निकै आलोचना भयो । सामाजिक सञ्जाल प्रयोगकर्ताले संघीय सरकारदेखि प्रदेश तथा स्थानीय सरकारको व्यापक टिप्पणी गरे ।

उनीहरुले शहरमा अनावश्यक भ्यु टावर बनाउन सक्ने सरकारले गाउँका पुल समयमै मर्मत नगर्दा आइतवार उक्त घटना घटेको दाबी गरे ।  अधिकांशले कर्णालीका यस्ता समस्या सधैभरी भइरहने बताए । सामाजिक सञ्जाल फेसबुकमा शिवालयका जनक शाही लेख्छन् – तिम्रा भ्यु टावर बनाउने बजेटले आइतवार कर्णाली नदिमा पक्की पुल निर्माण गरेको भए यो कर्णालीका जनताले दुई छाक टार्न लगिएको नुनको भारी बोकेर गएका बिचारा पशुहरुले सास्ती भोग्नु पर्ने अबस्था आउने थिएन होला ।’

यस्तै सुर्खेतमा कार्यरत पत्रकार दिपेन्द्र शर्माले लेख्छन् ‘ कर्णालीका कुरा मात्रै ठुला, गधाले भाषण गर्दा, भेडाहरुले ताली पिट्दा, आज बिचरा निर्दोष खच्चडहरुको यो अवस्था हुन पुगेको हो।’ उनीहरु मात्रै होइन यस्ता आलोचना गर्ने सामाजिक सञ्जाल फेसबुकमा लर्काे लागेको छ ।

अब घटनातर्फ प्रवेश गरौ । आइतवार बिहान ९ बजे अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा–९ र दैलेखको आठबिस नगरपालिका वडा–४ जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुल हुँदै खच्चडहरू नदी पार गरिरहेका थिए । खच्चडको भारले एक्कासी पुल पूर्वतर्फ कोल्टो प¥यो ।

खच्चडका खुट्टा धमाधम पुलको जालीबाट बाहिर निस्किए । खच्चडको शरीर पुलकै जालीमा अड्किए । त्यसपछि १३ वटा खच्चड छटपटिन थाले । खच्चड पुलको जालीमा अड्केको देखेपछि खच्चड लिएर गएका हेरालु नवीन नेपाली चकित परे । उनी आफु भएको ठाउँबाट एक पाइला पनि अघि बढ्न सकेनन् । पुलमा फसेका खच्चड झण्डै दुई घण्टा छटपटाए ।

उनले जसोतसो प्रहरीलाई खबर गरे । पुलमा फसेका खच्चडको उद्धार गर्न अछाम र दैलेखबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा आयो । जिल्ला प्रशासन कार्यालय, दैलेखका निमित्त प्रमुख गणेशप्रसाद कोइरालाका अनुसार झोलुंगे पुलमा फसेका १३ मध्ये ११ वटा खच्चडको पाँच घन्टापछि उद्धार गरिएको थियो ।

८ वटा खच्चडलाई पुलको जाली काटेर कर्णाली नदीमा खसाएर उद्धार गरिएको थियो भने तीन वटालाई बगरमा खस्ने जोखिम भएपछि डोरीले तानेर उद्धार गरिएको हो । नदीमा खसालिएका ८ वटा खच्चडलाई डुंगाको सहायताले किनारमा लगिएको थियो । पुलमा फसेका दुइटा खच्चडलाई भने बचाउन सकिएन ।

एउटा खच्चड पुलमै र अर्कोलाई जाली काटेर नदीमा खसाएपछि मरेको निमित्त प्रमुख कोइरालाले बताए । जालीमा फसेका खच्चडहरुले त्यही बाटो हुँदै निरन्तर सामान ढुवानी गर्दै आएका थिए । आइतबार पनि अछामबाट चामल लिन दैलेख गएका थिए । उक्त खच्चडहरु फरक–फरक व्यापारीका हुन् ।

आयु एक सय वर्ष, भत्कियो २२ वर्षमै
खच्चड फसेको पुलको आयु १०० वर्ष भएको बुझिएको छ । पुल २०६१÷०६२ सालमा बनेको अनुमान गरिएको छ । स्थानीयको भनाइ अनुसार यो पुल बनेको २२ वर्ष मात्रै भएको छ । सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभागअन्तर्गत रहेको सस्पेन्सन ब्रिज डिभिजनका अनुसार नेपालका झोलुङ्गे पुलको आयु १०० वर्ष तोकिएको छ ।

आयु १०० सय वर्षभएपनि मर्मतसम्भार नभए जतिबेला पनि भत्कन सक्छ । अहिले भत्किएको पुल ३० वर्ष पनि पुगेको देखिँदैन । तर किन झोलुंगे पुल चुँडियो भन्ने कारण केही पनि खुलेको छैन् । स्थानीयका अनुसार पुल निकै पुरानो र मर्मत नभएका कारण चुडिएको अहुन सक्ने बुझिएको छ ।

पञ्चदेवल विनायक ९ का अध्यक्ष रामप्रसाद जैशीकाअनुसार पुलको दुईतर्फकै लठ्ठामा खिया लागिसकेको हुनाले पुलका लठ्ठा चुँडिएको हो । यो पुलबाट ओहोरदोहोर गर्ने पञ्चदेवलको भाटगाउँ, कालेकाँडा लगायतका गाउँमा अहिले पनि निकै विकटता छ । उनीहरुले खाद्यान्न, लत्ताकपडा किन्ने नजिकको बजार भनेको पनि दैलेखकै खिड्कीज्युला हो ।

खच्चड उद्धारपछि पुल पूर्ण रूपमा बन्द
आठबीस–६ का वडाध्यक्ष नवराज शर्माले खच्चड उद्दारपछि पुल पुर्णरुपमा बन्द गरिएको जानकारी दिए । उनकाअनुसार पुलका दुवै मुखमा तारजाली लगाइएको छ । ‘पुलको एकतर्फको भाग पूरै ढल्केको छ, तीनवटै लठ्ठा चुँडिएका छन्,’ वडाध्यक्ष शर्माले भने, ‘जोखिम भएकाले हामीले बन्द गरिदिएका छौं, नजिकै अर्को पुल बन्ने क्रममा छ ।’

बन्दै गरेको पुलको काम भर्खरै सुरु भएको उनले बताए । उनकाअनुसार अहिले लठ्ठा चुँडिएको पुलदेखि करिब १० मिनेको दूरीमा अर्को झोलुङ्गे पुल बन्न लागेको छ । वडाध्यक्ष शर्माका भनाइअनुसार दुई जिल्ला जोड्ने त्यो झोलुङ्गे पुलको रेखदेख नियमित नभएकै कारण आइतबार यति ठूलो घटना भएको हो । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।

कर्णालीको पुलमा फसेकामध्ये दुई खच्चड मरे, आठवटाकाे जीवितै उद्धार

प्रकाशित मिति : २०८१ जेठ २८ गते सोमबार