२०८३ वैशाख १३ , आइतबार

बुलबुले तालमा सञ्चालित मोटरबोटको औपचारिक उद्घाटन



सुर्खेत । सुर्खेतको बुलबुले तालमा आधुनिक डुङ्गा सञ्चालनको औपचारिक उद्घाटन गरिएको छ । पर्यटन विकासका लागि वीरेन्द्रनगर–१०स्थित बुलबुले तालमा सञ्चालन भएको डुङ्गा (मोटरबोट) को मङ्गलबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसहितको सरकारी नेतृत्वले औपचारिक उद्घाटन गरेको हो ।

चैत महिनादेखि डुङ्गा सञ्चालन भएपनि सरकारी सयन्त्रद्वारा औपचारिक उद्घाटन भएको थिएन । डुङ्गाको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले प्राकृतिक स्रोतसाधनले भरिपूर्ण कर्णाली प्रदेशलाई सदुपयोग हुन सके समृद्धि हासिल गर्न सकिने बताए । उनले नीजि क्षेत्रलाई प्रोत्साहन गर्न आफु तयार भएपनि सरकारले ल्याउने बजेटमा भर पर्न समेत आग्रह गरे ।

उनले बुलबुलेलाई पिकनिक स्पटभन्दा पनि सौन्दर्यकरण गरिनुपर्ने बताए । रारा र काँक्रविहार आफ्नो प्राथमिकता रहेको मुख्यमन्त्री कँडेलको भनाइ छ । उनले पैसा हेरेर कार्यक्रम बनाउने होइन कार्यक्रम हेरेर पैसा बनाउनुपर्ने बताए । मुख्यमन्त्री कँडेलले पर्यटन क्षेत्रलाई जति विकसित गर्न सकियो त्यसबाट रोजगारी सिर्जना हुने धारणा राखे ।

बुलबुले उद्दान क्षेत्रमा स्नान गृह, पिकनिक स्पटलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले सरकारको तीन खम्बे अर्थ नीतिले निकै सहयोग भएको जिकिर गरे । उनले सुर्खेतलाई पर्यटकिय हिसावले कर्णालीको पहिचान दिनसके मात्रै कर्णालीलाई चिनाउन सकिने बताए ।

साथै कर्णालीमा नीजि क्षेत्रामा लगानी गर्न डराउन नपर्ने अवस्था आएको मन्त्री रावतले बताए । यस्तै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पर्यटन क्षेत्रबाट नगरपालिकाको आम्दानीको स्रोत बढ्ने अपेक्षा गरिन् । त्यसका लागि नगरले बुलबुले उद्यानमा लगानी बढाईरहेको बताइन् ।

नगरप्रमुख ढकालले सरकारले ठाउँ अनुसार लगानी गर्नुपर्ने अवस्था आएको बताइन् । उनले पर्यटकीय विकासका लागि यो महत्वपूर्ण काम भएको गरिन् । तालको पर्यटकीय विकासका लागि सबैले हातेमालो गर्नुपर्ने उनको भनाइ छ । ताललाई अझ व्यवस्थित र रमणीय बनाउनुपर्ने प्रमुख ढकालले बताइन् ।

यस्तै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्षमण कँडेलले वीरेन्द्रनगरमा पर्यटकलाई भुलाउने माध्यमका रूपमा बुलबुलेलाई लिन सकिएको र यसले व्यावसायिक प्रयोजनमा फाइदा भएको बताए । उनले उद्यानभित्र भएका खाली जग्गाहरू पनि प्रयोगमा ल्याउनुपर्ने बताए । बुलबुले तालमा डुङ्गा सञ्चालन गरेर ठूलो उपलब्धि भएको उनको भनाइ छ ।

डुङ्गा कम्पनीका सञ्चालक तथा पर्यटन व्यवसायी विष्णु ढकालले एकीकृत रूपमा बुलबुले उद्यानको विकास गर्न सकिए पर्यटकीय क्षेत्रमा परिवर्तन गर्न सकिने बताए । उनले बुलबुलेमा आउने पर्यटकले मनोरञ्जनका लागि धेरै अपेक्षा प्रकट गरेको जानकारी दिए । उनले आफुसँग यस कार्यसम्बन्धी २१ वर्षको अनुभव भएको बताए । अहिले बुलबुले तालमा तीनवटा डुङ्गा (मोटरबोट)सञ्चालनमा छन् ।

डुङ्गा सञ्चालनपछि पर्यटकको संख्यामा वृद्धि
डुङ्गा सञ्चालनपछि बुलबुले आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ । केही समय पहिले बुलबुले आउने आन्तरिक तथा वाह्य पर्यटकहरु नाम मात्रैको बुलबुले ताल भएको भन्दै निकै ओलोचना गर्थे । तर पछिल्लो समय मोटरबोट सुरु भएपछि बुलबुलेमा आउने पर्यटकको संख्यामा वृद्धि भएको सुर्खेत उपत्यका नगर विकास समितिका लेखा सहायक खड्क रानाले बताए ।

’बुलबुले ताल जिल्लाकै प्रमुख पयर्टकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ’, रानाले भने, ’बुलबुले ताल पर्यटन प्रवर्द्धनसँगै नगरपालिकाको आन्तरिक स्रोत संकलनको माध्यम पनि बन्दै गएको छ ।’ उनले पहिले ८ सयको हारहारीमा पर्यटक आउने गरेकोमा मोटरबोट सञ्चालन भएपछि करिब १ हजार भन्दा बढी पर्यटक आउने गरेको बताए ।

साथै शनिवार तथा सार्वजनिक बिदाको दिनमा करिब १२ सय भन्दा बढी पर्यटक आउने गरेको बताए । सुर्खेतमा गर्मी सुरु भएसँगै बुलबुले उद्यानमा घुम्न, साँझ शीतलमा रमाउन, दिनभरिको कामको बोझ र थकान मेटाउन आन्तरिक पर्यटक पुग्ने गरेका छन् । आसपासमा खुला चौर भएकाले पनि शीतल हावा आउँछ । उनले बुलबुले ताललाई थप व्यवस्थित बनाउँदै लैजाने बताए ।


प्रकाशित मिति : २०८१ जेठ २९ गते मंगलबार