२०८३ वैशाख १३ , आइतबार

ठाटीकाँध गाउँपालिकामा बेथिति : मृत्यु भएकालाई भत्ता



सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिकामा मृत्यु भएका व्यक्तिको नाममा भत्ता वितरण भएको पाइएको छ । पालिकाको वडा नम्बर १ र ४ का गरी तीन जनाको नाममा रकम बढी भुक्तानी भएको महालेखाले औँल्याएको छ ।

महालेखाको छैटौँ प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७९/०८० तीन जनाको नामा भुक्तानी भएको ३५ हजार ८ सय रुपैयाँ असुल गर्नुपर्ने उल्लेख छ । सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को अनुसूची १० (९) बमोजिम निष्क्रिय खाताहरूको विवरण तोकिएको समयमा पालिका तथा पञ्जिकरण विभागमा पठाउनुपर्ने भएपनि त्यस्तो गरिएन ।

कार्यविधिको बुँदा १५ अनुसार भत्ता खाइपाइ आएको कुनै लाभग्राहीको मृत्यु भएमा मृत्यु भएको दिनसम्मको भत्ता निजको हकवालालाई भुक्तानी दिन सकिने व्यवस्था छ । तर कार्यालयलाई बैङ्कबाट प्राप्त स्टेटमेन्ट र ब्याच इन्ट्रीको परीक्षण गर्दा मृत्यु भएका लाभग्राहीहरूले पाउने रकम भन्दा बढी रकम बैङ्क खातामा दाखिला गरेको देखिएको महालेखाले जनाएको छ ।

पालिकाले आवश्यक छानबिन गरी बढी रकम दाखिला भएका असुल गरी केन्द्रीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २०८१ जेठ ३० गते बुधबार