२०८३ वैशाख १३ , आइतबार

काँक्रेविहार हाफ म्याराथन हुँदै, प्रायोजकद्वारा टि–सर्ट वितरण



सुर्खेत । वीरेन्द्रनगरमा सञ्चालन हुन लागेको राष्ट्रिय स्तरको दोस्रो काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिताको मुख्य प्रायोजकद्वारा टि–सर्ट वितरण गरिएको छ । बुधवार बिहान वीरेन्द्रनगर–६ नम्बर वडा कार्यालयमा भएको एक औपचारिक कार्यक्रमका हाफ म्याराथनको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिङक्स र माक्स टाइगरले टि–सर्ट वितरण गरेको हो ।

खेलाडी, प्रशिक्षक तथा खेलकुद र म्याराथन प्रतियोगितासँग सम्बन्धित सरोकारवालालाई टि–सर्ट वितरण गरिएको छ । उक्त प्रतियोगिता विश्व ओलम्पिकको दिनको अवसरमा आगामी असार ७ गते हुन लागेको छ । कर्णाली खेलकुद विकास परिषद्को सहयोग तथा मीड वेष्टन फिटनेस सेन्टरको आयोजनामा प्रतियोगिता सञ्चालन हुँदै छ ।

प्रतियोगिता सञ्चालन समिति संयोजक प्रमोद हमालले खेलकुदसँग सरकार र निजी क्षेत्रलाई जोड्ने ध्येयले म्याराथन आयोजना गरिएको बताए । उनले भने, ‘हामी म्याराथन खेलकुद मार्फत कर्णाली र नेपाललाई विश्वसामु चिनाउने ध्येयेमा छौँ । सोही अनुसार सरकारी निकायको लगानीको खाँचो छ, तर मेला महोत्सव लाखौँ खर्च गर्ने निजी क्षेत्रको पनि यसमा ध्यान जाओस् ।’

उनका अनुसार हाफ म्याराथन २१ किलोमिटरको हुनेछ । पहिलो संस्करणमा कर्णाली प्रदेशका खेलाडी मात्रै सहभागी गराएका थिए । यस वर्षबाट देशैभरका धावक, धाविका प्रतियोगितामा भाग लिँदै छन् । एथेलेक्टिसका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा काँक्रेविहारको पहिचान स्थापित गर्न र आसन्न दसौँ राष्ट्रिय खेलकुदको पूर्व सन्ध्यामा कर्णालीले जुनसुकै खेल पनि खेलाउन सक्छ भन्ने सन्देश प्रवाह गराउन म्याराथन आयोजना गरिएको हमाल बताउनुहुन्छ ।

हाफ म्याराथनको विजेतामध्ये २१ किलोमिटर प्रथम हुने खेलाडीलाई एक लाख राशिको पुरस्कार प्रदान गरिने छ । यस्तै प्रतियोगिताको द्वितीय स्थान प्राप्त गर्नेले ५० हजार, तृतीय हुनेलाई ३० हजार र सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई ३० हजार रकम पुरस्कार स्वरूप प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै क्रमशः १० किलोमिटर तर्फ प्रथम १०, द्वितीय ७ र तृतीय ५ हजार, ५ कि‍.मि तर्फ प्रथम ५, द्वितीय ३ र तृतीय २ हजार र विद्यार्थी तथा बालबालिकालाई लक्षित गरी ३ किलोमिटर दौड प्रतियोगिता पनि समावेश गरिएको छ । दौड प्रतियोगिताको रुट वीरेन्द्रचोकबाट सुरु भएर मंगलगढी, एअरपोर्टचोक, सुब्बाकुना हुँदै फेरी सोही रुट फिर्ता भएर सुब्बाकुना, मंगलगढीचोक हुँदै रेडियो नेपाल बांगेसिमल मोडबाट फिर्ता भई मंगलगडी, वीरेन्द्र चोक पुगेर समापन हुनेछ ।

प्रकाशित मिति : २०८१ जेठ ३० गते बुधबार