२०८३ वैशाख ३ , बिहीबार

डोको र गाग्री बोकेर चौकुने गाउँपालिकाको कार्यालय पुगे स्थानीय




सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकास्थित रेक्चाका नागरिकले खानेपानीको माग राख्दै गाउँपालिका घेराउ गरेका छन् । खानेपानीका लागि भूमिगत कुवा रहेको रेक्चामा यो वर्ष खडेरीका कारण सुकेपछि स्थानीयहरूले पालिका घेराउ गरेका हुन् ।

चौकुने गाउँपालिका– ५ मा पर्ने रेक्चामा झण्डै ४० घरधुरी छन् । सुक्खा खडेरीमा भूमिगत कुवा सुक्दा काकाकुल बनेका स्थानीयहरूले गाग्रीसहित पालिकामा पुगेर प्रदर्शन गरेका हुन् । एक गाग्री पानीका लागि कहिलेसम्म कुर्नुपर्ने सरकार भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

खानेपानीको चरम संकट चुलिएपछि स्थानीयवासीहरू रेक्चा खानेपानी संघर्ष समिति नै गठन गरेर विरोधमा उत्रिन बाध्य भएका छन् । रेक्चा पालिकाको मुकाम गुटुदेखि उत्तरतर्फ करिब चार किलोमिटरको दुरीमा पर्छ । अग्लो पहाडको थुम्कोमाथि समथर मैदानमा रहेको यो गाउँ वर्षौँदेखि पानीको चरम अभावमा गुज्रिरहेको छ ।

यता गाउँपालिकाका अध्यक्ष खड्ग विक (विवश) त्यहाँ सरकारबाट भइरहेको खानेपानी आयोजना सक्सेस नभएकाले त्यो ठाउँका लागि ठुलो रणनीति योजना बनाउनुपर्ने बताए । यद्यपि यो ठाउँको दीर्घकालीन समस्या समाधानका लागि भने नयाँ तरिकाले सम्भाव्यता अध्ययन गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१ जेठ ३१ गते बिहीबार