
खडेरीले बारीमा लगाएको सुक्दै गरेको मकै
कुलेन्द्र शाही, सुर्खेत । असार लागिसक्दा पनि वर्षा नभएपछि सुर्खेतमा खडेरीका कारण लगाएका बालीनाली बारीमै सुक्न थालेका छन् । मकै लगाउने समय (फागुन, चैत) मा भएपनि वर्षा नभएकाले ढिलो गरी बारीमा मकै रोपेका सुर्खेत सिम्ताका किसान असारको पहिलो हप्तासम्म पनि राम्रोसँग वर्षा नभएपछि चिन्तित छन् ।
लामो समयदेखि परेको खडेरी कारण किसानले पाखो र खेतमा लगाएको मकै बाली सुक्न थालेको हो । लामो समय पानी नपरेको र सिँचाइको पनि सुविधा नभएकोले मकैबाली सुक्न थालेको सिम्ता गाउँपालिका-२ का किसान अमर सिंहले बताए । मकैबाली मात्र नभइ धानको ब्याड समेत सुक्न थालेका र ब्याड जोगाउन निकै मुस्किल भएको उनको भनाई छ।
मकैबाली धमाधम सुक्न थालेपछि जिल्लाभरीका किसान प्रभावित भएका छन् । हिउँद याममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन नभएको सुर्खेत सिम्ता गाउँपालिकाका किसान कृष्ण खत्रीले बताए ।
‘मकै बारीमै सुक्न थालेका साथै खेतमा रोपाइँका लागि राखेको धानको ब्याड पनि पहेँलिँदै गएको अर्का किसान प्रेम विकले बताए । ‘मकै र धान सुकेर कामै नलाग्ने भएको छन्, खडेरीका कारण किरा र कमिलाले बीउ खाएर नास गर्न थालेका छन्’ उनले भने । वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौलगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन नभएको उनको भनाइ छ।
छिटफुट रूपमा पानी परेपनि यहाँ लामो समयदेखि पानी परेको छैन । मौसम तातिरहेको र गर्मीले अलासतलास बनाइरहेकाले जनजीवन प्रभावित बनेको यहाँका किसानको भनाइ रहेको छ । ‘विपत्ति सुरु भएको छ, पाँच महिनादेखि राम्रोसँग पानी परेको छैन, बारीमा छरेको मकै बारीमा नै सुकेको छ, किसान विमला विकले भनिन्, ‘रोपाइँ गर्न नपाएर किसान चिन्तित छन्, तरकारी र फलफूलका बिरुवा मर्न थाले, वनजङ्गल डढेलोले ध्वस्त भएका छन्, खानेपानीका मुहान सुकिराखेका छन ।’
जलवायु परिवर्तनको असर यहाँ प्रत्यक्षरूपमा परेको स्थानीयको भनाइ छ । वर्षा नहुँदा बाँझै रहेका खेत जोत्नसमेत नपाइएको उनीहरूको गुनासो छ ।व्यावसायिक तरकारी खेती गरेका किसानले खडेरीका कारण उत्पादनमा कमी आउने गुनासो गरेका छन् । लामो समयको खडेरीले किसानलाई बाली लगाउन र लगाएका बालीको संरक्षणमा समस्या भएको सिम्ता गाउँपालिकाले जनाएको छ।
विशेषगरी हिउँदे बालीमा खडेरीले असर पुर्याएको सिम्ता गाउँपालिका-२ का वडा अध्यक्ष खगेन्द्र सिंहले बताए । सिँचाइ सुविधा भएका र नभएका दुवै स्थानमा उत्पादनमा निकै कमी आएको उनको भनाइ छ । बालीनाली सुक्न थालेपछि यतिबेला किसान निकै चिन्तित बनेका छन् । अर्कोतर्फ पानीको वैकल्पिक स्रोतसमेत खडेरीका कारण सुकेपछि धमाधम रोपाइँ हुनुपर्ने ठाउँमा पनि रोपाइँ हुन सकेको छैन ।