सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाले युवाहरूलाई कृषि र रोजगारीमा जोड्ने गरी आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । सोमवार पालिकाको १५ औँ गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा युवालाई उत्पादन, कृषि र रोजगारीमा जोड्ने उल्लेख गरिएको हो ।
गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि उपज वृद्धिका लागि जग्गा चक्लावन्दी‚ मल तथा बिउ बिजनमा अनुदान‚ कृषि यान्त्रिकीकरण गरी नवीन प्रविधि हस्तान्तरणको व्यवस्था मिलाइने र व्यावसायिक तथा सामूहिक कृषि खेतीमार्फत स्वरोजगार हुन युवालाई प्रोत्साहित गर्न कृषि क्षेत्रको रूपान्तरण गर्ने नीति लिइने उल्लेख गरे ।
माटो परीक्षण नतिजाको आधारमा कृषि चून प्रयोगलाई व्यापकता दिने, कृषकलाई प्राविधिक सहयोग उपलब्ध गराउन घुम्ती कृषि प्राविधिक सहयोग कार्यक्रम सञ्चालन गर्ने र सहकारी संस्थाहरूको साझेदारीमा कृषि उत्पादन, प्रशोधन तथा बजारीकरण गर्ने नीति रहेको अध्यक्ष चन्दले बताए । रैथाने बालीको उत्पादनलाई प्रोत्साहन गर्ने गाउँपालिकाको नीति छ ।
यस्तै सम्भाव्यताका आधारमा सिम्ता गाउँपालिकाको डाँडाखालीलाई ओखर खेती, वर्षे आलु, नाहागाउँलाई प्राङ्गारिक कृषि उत्पादन, सुन्तला, अर्ग्यानिक तरकारी उत्पादन क्षेत्र, वडा नं।१ को सुन्तलामा तरकारी पकेट क्षेत्र, राकम, काप्रीचौर, जुगईखोला र आलीमा धान तथा गहुँ पकेट क्षेत्र, बैशपानी डोवखोलामा अनार खेतीको विकास गर्ने गाउँपालिकाको नीति छ ।
साथै काप्रीचौरको माथिल्लो क्षेत्रमा सुन्तला तथा फलफूल पकेट क्षेत्र, सिमल गाउँमा हिउँदे आलु, सुन्तला तथा विउविजन उत्पादन पकेट क्षेत्र, डाँडाखाली र खानीखोलाको माथिल्लो क्षेत्रमा टिमुर पकेट क्षेत्र, आग्री गाउँमा लसुन, अदुवा र नगदे बाली पकेट क्षेत्र र राकमलाई तरकारी, मकै, तोरी, तिल पकेट क्षेत्र, सिम्ता–४ मा अनार तथा बेसार पकेट क्षेत्र तथा सिम्ता–९ मा अदुवा र बेसार पकेट क्षेत्रका रूपमा विकास गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रम रहेको छ ।
कृषि उत्पादनलाई बढवा दिनका लागि कृषि योग्य जमिनको पहिचान गरी सिचाई कुलो निर्माणलाई विशेष प्राथमिकता दिने साथै साना तथा ठुला खोलानालाहरूको पानी संरक्षण तथा तटबन्ध निर्माण गर्ने उल्लेख गरिएको छ । यस्तै गाउँपालिकालाई दूध, अण्डा र मासुमा आत्मनिर्भर बनाउन गाई भैसीपालन, बाख्रा पालन, कुखुरा पालन र मत्स्यपालनलाई प्रोत्साहन गर्ने र युवाहरूलाई पशुपंक्षी पालनमा आकर्षित गर्नको लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्ने गाउँपालिकाले नीति लिएको छ ।
रोजगारी प्रवर्द्धन गरी गरिबी न्यूनीकरणका लागि पनि नीतिमा प्राथमिकता दिइएको अध्यक्ष चन्दले उल्लेख गरे । जसअन्तर्गत गाउँपालिकाभित्र बसोबास गर्ने विपन्न तथा गरिबहरूको तथ्याङ्क सङ्कलन तथा अभिलेखीकरण गरी रोजगार रणनीतिक योजना बनाउने र अध्यक्ष रोजगार कार्यक्रम सञ्चालन गर्ने योजना छ । अध्यक्ष रोजगार कार्यक्रम सञ्चालनका लागि ५० लाख बजेट विनियोजन गरिएको छ । यस्तै युवा रोजगार तथा युवा सचेतना अृभिबृद्धि लगायतका काम गर्नका लागि गाउँ युवा परिषद् पनि गठन गर्ने भएको छ ।
उपाध्यक्ष गोमा शर्मा रेग्मीले गाउँ सभामा पेस गरेको आगामी वर्षको बजेट वक्तव्यमा पनि उत्पादनसँग युवा र रोजगारी जोड्ने कार्यक्रमहरू समावेश गरिएको छ । गाउँपालिकाले नवपद्र्धनमा पनि युवाहरूलाई जोड्ने गरी बजेट छुट्टाएको छ । उपाध्यक्ष शर्माले युवाहरूको लागि नवीनतम खोज तथा नवपर्वद्धन कार्यक्रमको लागि ५ लाख बजेट विनियोजन गरेको उल्लेख गरिन् । साथै गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई युवा लक्षित साझेदारी व्यावसायिक पशुपालनमा प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको छ ।
यसका साथै गाउँपालिकाले प्रदेश सरकारसंगको समपूरक अनुदानमा विद्यालय भवन निर्माण, पूर्वाधार विकास कार्यक्रमसँगको साझेदारीमा सहिद ऋषि चक्रपथ र इन्द्र विसी द्रुतमार्ग स्तरोन्नति, विभिन्न विद्यालय भवन निर्माण लगायतलाई बजेटमा प्राथमिकतामा राखेको छ ।
भवन निर्माण तथा घर नक्सा नियमन सम्बन्धी कार्यविधि तयार गरी कार्यान्वयन गर्ने, गाउँपालिकाको समग्र सडक गुरु योजना निर्माण गर्ने गाउँपालिकाको योजना छ । आगामी आर्थिक वर्षका लागि उपाध्यक्ष शर्माले ५६ करोड ९५ लाख ८५ हजार ८८४ रुपैयाँको बजेट गाउँ सभामा पेस गरेकी छिन् ।
वीरेन्द्रनगरले ल्यायो ३ अर्बको बजेट
वीरेन्द्रनगरको १५ औँ नगर सभामा उप–प्रमुख निलकण्ठ खनालले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५९ करोड १८ लाख ६८ हजार ९ सय ९९ रुपैयाँ बजेट सार्वजनिक गरेको छ । वीरेन्द्रनगरले कृषि विकासमा ५६ लाख ५० हजार, पशुपन्छी विकासमा ४५ लाख ६० हजार, उद्यम सहकारी तथा उपभोक्ता हितमा ६१ लाख ५० हजार र जनस्वास्थ्य प्रवर्धन तथा नगर अस्पतालमा ४ करोड ५ लाख ५८ हजार बजेट विनियोजन गरेको छ ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग लगायत अन्य लक्षित वर्गमा १ करोड १६ लाख ३० हजार, शिक्षा, युवा तथा खेलकुदमा ७ करोड ९० लाख ६७ हजार, वन, वातावरण, फोहरमैला तथा विपद् व्यवस्थापनमा २ करोड ६४ लाख २० हजार, सार्वजनिक सेवा तथा सुशासनमा २ करोड १७ लाख ४५ हजार र नगर स्तरीय विविध पूर्वाधार विकासमा २५ करोड ८५ लाख ५० हजार बजेट विनियोजन गरेको उपप्रमुख खनालले बताए ।
वीरेन्द्रनगर नगरपालिकाको खानेपानीको समस्यालाई तत्काल समाधान गर्न डिप बोरिङ, खानेपानी पाइप लाइन विस्तार तथा पुराना आयोजनाहरूको मर्मत सम्भार र विस्तार तथा खानेपानी प्रणाली सुधारको लागि वडा स्तरीय कार्यक्रम मार्फत यथोचित बजेट विनियोजन गरिएको खनालले उल्लेख गरे । प्रदेशको राजधानीको अस्तित्वलाई विशेष ध्यान दिँदै शहरी सौन्दर्यताका पूर्वाधारहरूलाई विशेष जोड दिँदै घण्टाघर पार्क लगायत सुर्खेत उपत्यका नगर विकास समिति तथा नगरपालिकाबाट खाली गराइएका सार्वजनिक जग्गामा पार्क तथा पार्किङ स्थल निर्माणका लागि रु. ७ करोड ५० लाख र मंगलगढीमा आकाशे पुलका लागि १ करोडसहित नगरको विविध भौतिक पूर्वाधार विकासका लागि २५ करोड ८५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।
गुर्भाकोटको ९२ करोड बजेट
सुर्खेतको गुर्भाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न ९२ करोड ७ लाख २३ हजार ४ सय ५९ रुपैयाँ बजेट विनियोजन गरेको छ । गुर्भाकोट नगरपालिकाकी उपमेयर मैना विकले सोमवार आयोजित नगर सभामा उल्लेखित रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
नेपाल सरकारबाट वित्तीय समानीकरण रु १३ करोड १८ लाख, नेपाल सरकार राजश्व बाँडफाँडबाट रु १३ करोड ६४ लाख, नेपाल सरकार सशर्त अनुदान ३४ करोड ११ लाख, नेपाल सरकार समपूरक अनुदान ६० लाख, कर्णाली प्रदेश सरकारबाट वित्तीय सम्मानीकरण रु १ करोड ५६ लाख ७२ हजार, राजश्व बाँडफाँड तर्फ सवारीसाधन कर रु ३८ लाख ३३ हजार ४५९, प्रदेश सरकार शसर्त अनुदान ३ करोड ३७ लाख ४ हजार, प्रदेश सरकार विशेष अनुदान ६० लाख र प्रदेश सरकार समपूरक अनुदान १ करोड रहेको, आन्तरिक श्रोत रु २ करोड ६१ लाख २५ लाख, चालु आर्थिक वर्षको बैङ्क मौज्दात रु १ करोड र सामाजिक सुरक्षा तर्फ २० करोड गरी गरी कुल बजेट ९२ करोड ७ लाख २३ हजार ४ सय ५९ रकम बरावरको आय प्राप्त हुने अनुमान गरिएको छ ।
१३ करोड मागेपछि भेरीगंगामा नगरसभा नै स्थगित
भेरीगंगामा १५ नगरसभा स्थगित भएको छ । १५ औँ नगर सभामा गणपूरक सङ्ख्या नपुगेपछि नगरसभा स्थगित गरिएको हो । बहुमत कार्यपालिका सदस्यले साथ नदिएपछि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न नसकिएको नगर प्रमुख यज्ञ प्रसाद ढकालले जानकारी दिए । कार्यपालिका सदस्यहरूले नगरप्रमुख यज्ञ प्रसाद ढकालले एकलौटी गरेको साथै आफूहरूसँग छलफल नगरेको भन्दै नगरसभा बहिष्कार गरेका थिए ।

उनीहरू नगर सभामा उपस्थित नभएपछि गणपूरक सङ्ख्या नपुगेको भन्दै नगर प्रमुख ढकालले नगरसभा स्थगित गरेको जानकारी दिए । बहिष्कार गर्ने कार्यपालिका सदस्यहरूले नगरप्रमुख ढकालले नीति तथा कार्यक्रममा आफूहरूसँग छलफल नगरी एकलौटी गरेको आरोप लगाएका छन् । भेरीगंगा नगरपालिकाका कार्यपालिका सदस्य शेर बहादुर कामीले नगर प्रमुख ढकालले जुनसुकै कुरामा पनि मनोमानी गरेको आरोप लगाए ।
उनले प्रमुख ढकालले आफूहरूले दिएका प्रश्नको जवाफ नदिने, वडामा बजेट बढी माग गर्दापनि उहाँले कुनै सुनुवाइ नगरेको आरोप लगाए । उनले नगरप्रमुख ढकाल भेरीगंगालाई कमजोर बनाउनतर्फ अग्रसर भएको बताए । यस्तै भेरीगंगा १२ का वडा राम बहादुर डाँगीले पनि नगरप्रमुखले एकलौटी गरेको, भेरीगंगालाई कमजोर गराउने बाटो रोजेको आरोप लगाए ।

‘ हामीले १३ वडाहरूमा एउटा वडालाई एक करोड बजेट माग गरेका थियौ ।’ उनले भने, ‘तर नगर प्रमुखले भने १३ वडालाई जम्मा ७ करोड मात्रै बजेट दिने कुरा गर्नुभयो ।’ त्यही भएर पनि हामी नगर सभामा गएनौँ।’ यस्तै कार्यपालिका सदस्य अमृता विष्टले पनि आफूहरूले नगरसभा बहिष्कार गरेको जानकारी दिइन् । यता नगरप्रमुख ढकालले भने उनीहरूले लगाएका आरोप सबै झुटो भएको बताए ।
उनले बहिष्कार गर्ने जनप्रतिनिधिहरूले वडामा मात्रै बजेट लिन खोजेको बताए । उनले अब उहाँहरू छलफल गरेर अगाडि बढ्ने बताए । नगरप्रमुख ढकालले पीडाका साथ नगर सभा स्थगित गर्नुपरेको बताउँदै उनीहरूको माग सकेसम्म पुरा गर्ने प्रतिबद्धता जनाए । भेरीगंगामा जम्मा २३ जना कार्यपालिका सदस्य रहेकोमा १८ जनाले बहिष्कार गरेका छन् । नगरसभा बहिष्कार गर्नेहरूमा नेपाली काँग्रेस र नेकपा माओवादीका निर्वाचित जनप्रतिनिधि रहेका छन् ।