
सुर्खेत । कर्णाली करिडोर ४ सय केभी प्रसारण लाइन निर्माण शुरु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आज (शुक्रवार) कैलालीको सुख्खडमा प्रसारण लाइनको शिलान्यास गरेका हुन् । कर्णाली करिडोर ४ सय केभी प्रसारण लाइन आयोजनाको टावर निर्माणको शिलान्यास गरिएको हो ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीका अनुसार फुकोट–कर्णाली, बेतन–कर्णाली, तिला एक र दुई लगायतका आयोजनाबाट उत्पादित झन्डै तीन हजार मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न सकिनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको ‘प्रसारण हाइवे’ का रूपमा रहेको यस आयोजनाको निर्माणबाट सुदूरपश्चिमका अन्य पूरक पूर्वाधारको विकास भई समग्र देशको बिजुली विकासमा टेवा पुग्ने नेपाल विद्युत् प्राधिकरणको भनाइ छ ।
१ सय २५ किलोमिटर लामो प्रसारण लाइन आयोजना कर्णाली प्रदेशको कालीकोट रेङ्गिलबाट शुरु भई अछाम, सुर्खेत हुँदै कैलालीको दोधारा सबस्टेशनमा जोडिने छ । त्यहाँबाट पूर्वतर्फ बुटवल, पश्चिममा अत्तरिया एवम् दैजी र दक्षिणतर्फ अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरेलीमा जोडिने छ । आउँदो तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको अनुमानित लागत आठ अर्ब रुपैयाँ बराबर छ ।