२०८३ वैशाख १३ , आइतबार

कर्णाली प्रज्ञा प्रतिष्ठान निर्माणका लागि पहल गरिने



सुर्खेत । कर्णाली प्रज्ञा प्रतिष्ठान निर्माणका लागि निरन्तर पहल, बहस र पैरवी गरिने भएको छ । दुई दिनसम्म वीरेन्द्रनगरमा सञ्चालित ‘प्रथम कर्णाली सांस्कृतिक सम्मेलन’ले चार बुँदे घोषणापत्र जारी गर्दै कर्णाली प्रज्ञा प्रतिष्ठान निर्माणका लागि पहल गर्ने घोषणा गरेको हो ।

उक्त घोषणापत्रमा कर्णाली क्षेत्रलाई विषयवस्तु बनाएर लेखिएका पुस्तक संकलन गरी पुस्तकालय निर्माण गरिनेलगायतका विषयवस्तुहरु समेटिएका छन् । त्यस्तै मौलिक बाजा भेषभुषा सामग्रीसहितको प्रदेश सांस्कृतिक संग्रहालय निर्माण गर्नेसमेत घोषण पत्रमा उल्लेख छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा पहिलो पटक ‘कर्णाली सांस्कृतिक सम्मेलन’ भएको थियो । दुई दिनसम्म सञ्चालन भएको उक्त सम्मेलनले स्थानीय मौलिक पाठ्यक्रम तयार गर्न सम्बन्धित जिल्ला शाखाले आफ्ना जिल्लाका स्थानीय तहसँग अन्तरक्रिया, छलफल र समन्वय गर्ने समेत घोषणा गरेको छ ।

सम्मेलनमा कर्णालीका ८ वटा जिल्लाबाट सहभागी जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरूलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रिता थापा, उपाध्यक्ष कृष्ण रेउले, सचिव उत्तम शर्मा, केन्द्रीय सदस्य राजु केसी, खड्क चन्दले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २०८१ असार १७ गते आइतबार