
अर्थमन्त्री महेन्द्र केसी र कांग्रेस सांसदबीच तानातान
कुलेन्द्र शाही, सुर्खेत
कर्णाली प्रदेश सभामा नेपाली काँग्रेसले निरन्तर असार ६ गतेदखि संसद अवरुद्ध गर्दै आाएको छ । बजेटको विषयलाई लिएर कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लगातार संसद् अवरुद्ध गरिरहेको हो । असार ६ गते बैठक सञ्चालन नहुँदै कांग्रेस प्रदेश सभाबाट बाहिरिए यता संसद् चल्न सकेको थिएन । असार १२ गतेदेखि सूचना टाँस गरेर बैठक सर्दै आइतबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको थियो ।
तर, सरकार र प्रतिपक्षबिच सहमति नहुँदै ७ बजे मात्रै बैठक सुरु भयो । बैठक सुरु भएलगतै आकस्मिक समयमा काँग्रेस संसद बेदराज सिँहले केही कुराहरु राखे । उनले कुराहरु राखेपछिसभामुख नन्दा गुरुङले प्रतिपक्षको अवरोधकाबिच अर्थमन्त्री महेन्द्र केसीलाई जवाफ दिन रोस्टममा बोलाइन् । त्यसबिचमा कांग्रेसले अर्थमन्त्री केसीलाई रोक्नलाई बेल घेराउँ ग¥यो । बेल घेराउँ मात्र नभई त्यहाँ निकै धकेलाधकेल भयो । त्यही क्रममा नेपाली काँग्रेसले केसीमाथि ‘अमर्यादित’ व्यवहार गरेको छ ।
बैठकमा कांग्रेस सांसदहरूले मन्त्री केसीलाई रोस्ट्रममा जानबाट रोक्न उनलाई समातेर तानेको भिडिओमा प्रष्ट देखिएको छ । भिडिओमा देखिएअनुसार केही बेर मन्त्री केसी र कांग्रेस सांसदबीच तानातान भएको थियो । कांग्रेस सांसदले मन्त्री केसीलाई समातेपछि छुट्याउन गएका सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूबीच धकेलाधकेल भएको थियो ।
केही बेर चलेको घम्साघम्सीपछि रोस्ट्रममा पुगेका मन्त्री केसीले बजेटमाथि उठेका प्रश्नको जवाफ यसअघि नै दिइसकेको बताएर बिदा भए । मन्त्री केसीको जवाफलगत्तै सभामुख नन्दा गुरुङ्गले अर्को बैठक असार १७ मा बस्ने भन्दै आइतबारको बैठक अन्त्य गरिन् ।
सिँगो कर्णालीको सुझावलाई उठाएका छौ : काँग्रेस
नेपाली काँग्रेसले भने आफुहरुले अर्मयादित व्यवहार नभई जनताको विषय उठान गरेको दाबी गरेको छ । नेपाल काँग्रेसका सांसद घनश्याम भण्डारीले आफुहरु माथि उल्टो हात हालेको आरोप लगाए । ‘हामीले अर्मयादित व्यवहार गरेका होइनौँ,’ उनले सिद्धदर्शन दैनिकसँग भने, अर्थमन्त्रीलाई रोष्टममा जानबाट रोक्नलाई बेल घेराउँ गर्ने क्रममा केही धकेलाधेकल भएको हो ।’ त्यही क्रममा हामीमाथि हात हालाहाल पनि भएको थियो ।’
उनले सरकारले प्रतिपक्षका माग सम्बोधन नगरेर जबरजस्ती अघि बढ्न खोजेको आरोप लगाए । बजेटमाथि उठेका विषयहरूको समाधान नहुँदै जबरजस्ती तरिकाले सदन चलाएको उनको भनाइ छ । ‘हामीले राखेका माग सम्बोधन नभई सरकारको बहुमत छ भन्दै अगाडी बढेको छ ।’ उनले भने ‘हामीले काँग्रेसको माग होइन सिँगो कर्णालीको सुझावलाई उठाएर संसद अवरुद्ध गरिरहेका छौ ।’
विषय बाहिर गएर संसदलाई बन्धक बनायो : एमाले
एमाले प्रमुख सचेतक टेकराज पछाईले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विषय बाहिर गएर संसद अवरुद्ध गरिरहेको बताए । सिद्धदर्शन दैनिकसँग कुरा गर्दै बजेटेको विषय नभई बाहिरको बिषयलाई लिएर अर्थमन्त्रीमन्त्री माथि अमर्यादित व्यवहार देखाएको बताए ।
‘हामीले उहाँहरुले राखेका माग सम्बोधन गर्छाै, छलफल गर्छाै भन्दाभन्दै पनि बजेटको विषयमा केही कमिकमजोरी नदेखेपछि बाहिरको विषयलाई लिएर संसदलाई बन्धक बनाएको छ ।’ उनले भने, हुँदा हुँदा आज त अर्थमन्त्रीमाथि अमर्यादित व्यवहार देखायो ।’
उनले आफुहरुले ल्याएको बजेटमा केही कमीकमजोरी भए छलफलबाट जानुपर्नेमा काँग्रेसले विषयबाहिर गएर संसद अवरुद्ध गरेको बताए । प्रमुख सचेतक पछाईले आफुहरुले जनता भन्दा बाहिरका कुनै पनि योजनाहरु नल्याएको दाबी गरे । यद्यपि काँग्रेसले भने सरकारले चित्त बुझ्दो बजेट नल्याएको भन्दै निरन्तर बताउँदै आएको छ । सरकार र प्रतिपक्षको आ–आफ्नै अडान रहेको छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।