सुर्खेत । कर्णाली प्रदेशसभाको अवरोध तत्कालका लागि हटेको छ । प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेटप्रति असहमति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाले संसद अवरोध गर्दै आएका थिए । आइतवार संसद अवरोध मात्रै होइन् संदनमै प्रमुख प्रतिपक्ष काँग्रेसले अर्थमन्त्री महेन्द्र केसीमाथि हातसमेत हालेको थियो ।
कांग्रेसले अर्थमन्त्री केसीलाई रोस्ट्रम जान रोक्ने क्रममा केसीमाथि हात हालेको थियो । कांग्रेस सांसदले मन्त्री केसीलाई समातेपछि छुट्याउन गएका सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूबीच धकेलाधकेल भएको थियो । तर सोमबार भने सभामुख नन्दा गुरुङको अध्यक्षता र मुख्यमन्त्री यामलाल कँडेलको उपस्थितिमा बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ९ बुँदे सहमति गरेपछि प्रदेशसभाको अवरोध हटेको हो ।
उक्त बैठकबाट व्यक्तिको नाम, नीजि फर्म (सरकारी सम्पति व्यक्तिगत प्रयोजन हुने गरी) आएका योजनाहरुलाई कार्यान्वयन हुन नदिने, क्रमागत र बहुवर्षीय आयोजनाहरुलाई प्राथमिकता निर्धारण गरी निर्माण कार्यलाई प्राथमिकता दिने निर्णय भएको छ ।
यस्तै प्रदेश सरकारले तर्जुमा गरेका कृषितर्फका कार्यक्रम बाहेक १० लाखमाथिका सबै योजनाहरू ठेक्का/बोलपत्र आह्वान प्रक्रिया मार्फत सञ्चालन गर्ने र प्रक्रिया पूरा गरी छनोट भइसकेका ‘एक जिल्ला एक नमुना विद्यालय’ कार्यक्रम कार्यान्वयन गर्ने, एक पालिका एक विद्यालय भवनलाई लागू गर्ने र शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भौतिक निर्माणतर्फको कार्यक्रम प्रदेशसभा सदस्यहरूको सिफारिसका आधारमा छनौट गर्ने विषयहरू कांग्रेसले सरकारलाई पेस गरेको छ ।
उक्त सबै विषयहरू सम्बोधन गरेर जाने विषयमा सरकार अग्रसर भएको हो । उक्त सहमति भएसँगै सदन चल्न दिने विषयमा कांग्रेस सकारात्मक भएको छ ।

