
सुर्खेत । दैलेखका ६ जना किसानहरू जिल्ला स्तर मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट पुरस्कृत भएका छन्। कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट ३/३ गरी ६ जना किसान पुरस्कृत भएका हुन्।
शनिवार एक कार्यक्रमबिच कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले उत्कृष्ट कृषकलाई नगद रकमसहित प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट उत्कृष्ट हुने तीन किसानमा नारायण नगरपालिका-१ का दिपा शाही, भगवतीमाई गाउँपालिका९२ का विमल विक र ठाँटीकाँध गाउँपालिका-१ का कलमबहादुर शाही पुरस्कृत भएका छन्।
उनीहरूले क्रमशः २० हजार, ३० हजार र ४० हजार नगद रकमसहित प्रमाणपत्र ग्रहण गरेका छन्। यस्तै, कृषि विकास कार्यालय दैलेखले पनि जिल्ला स्तर मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार अन्तरगत तीन जना कृषकलाई पुरस्कृत गरेको छ। पुरस्कृत हुनेमा भगवतीमाई गाउँपालिकाकी ध्रुवकुमारी बिसी, नारायण नगरपालिका-२ का रेशमबहादुर थापा र डुङ्गेश्वर गाउँपालिका-६ का देवेन्द्र गोदार रहेका छन्।
उनीहरूलाई क्रमशः २० हजार, ३० हजार र ४० हजार नगद रकमसहित प्रमाणपत्र प्रदान गरिएको छ। यस्तै, कृषि विकास कार्यालय दैलेखका अन्य ५५ जना कृषकलाई पनि सम्मान गरेको छ। जिल्ला कृषि विकासले आर्थिक वर्ष २०८०/०८१ मा कृषि विकास कार्यालयबाट सञ्चालित विभिन्न योजनाहरूमा उत्कृष्ट काम गरेका किसानलाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम अन्तरगत सम्मान गरेको कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले जानकारी दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले थोरै जना किसानहरूले चाहेको खण्डमा पनि कृषि उत्पादनमा वृद्धि गर्न सकिने बताए। मन्त्री शाहले भने, ‘जनताको स्तर वृद्धिका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको छ। किसानले धेरै उत्पादन गरेको खण्डमा तरकारी खरिद गर्ने व्यक्ति आफै किसानको बारीमा आउँछन्। अब तरकारी बिक्री वितरण गर्नका लागि बजार खोज्नुपर्ने अवस्था छैन।’
यस्तै, मन्त्री शाहले किसानले खेती गर्दा देखिएका समस्याहरूको समाधानका लागि सरकार सकारात्मक रहेको र किसानले उत्पादन गरेका तरकारी वस्तुहरू बाहिर पठाउन सकेको खण्डमा किसान सँगै सिङ्गो दैलेख नै आर्थिक स्तरमा माथि उठ्ने विश्वास व्यक्त गरे।