
कुलेन्द्र शाही, सुर्खेत
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा उक्त विवरण सार्वजनिक भएको हो । जसमा मुख्यमन्त्री कँडेल, सामाजिक विकास मन्त्री वीरबहादुर शाही, भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह निकै धनी देखिएको पाइएको छ ।
मुख्यमन्त्री कँडेलका सुर्खेत र काठमाडौँमा घर घडेरीदेखि विभिन्न ११ वटा बैंक तथा सहकारीमा लाखौँ रकम मौज्दात छ । वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थान निवासी कँडेलको नाममा वीरेन्द्रनगरमा ०–३–१२–३÷४ वर्गमिटर क्षेत्रफलमा फैलिएको पक्की घर छ । उक्त घर पुर्ख्यौली हो । यस्तै उनकी श्रीमती गीता अधिकारीको नाममा काठमाडौँमा घर छ ।
कागेश्वरी मनोहरा नगरपालिका–६, मा १९०.७८ वर्गमिटर क्षेत्रफलमा घर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उक्त घर विगतको बैंक मौज्दात, आफ्नो, श्रीमती र छोरीहरूको पारिश्रमिक, घरभाडा, ऋण सापट गरी जोडेको कँडेलले जनाएका छन् । कँडेलको विभिन्न पाँच ठाउँमा लाखौँ मूल्य पर्ने जग्गा÷घडेरी छ ।
उनको नाममा वीरेन्द्रनगर नगरपालिका–९ मा ०.८.१४ वर्गमिटर र उनकी श्रीमतीको नाममा वीरेन्द्रनगर १० मा ०.१.८.२, वडा नम्बर ४ मा ०.०.१८ र ०.०.१३.१९ वर्गमिटर क्षेत्रफलमा फैलिएको जमिन छ । यस्तै श्रीमती अधिकारीकै नाममा काठमाडौँको गोठाटार मुलपानी–४, मा ८ आनामा फैलिएको जमिन रहेको उल्लेख छ ।
काठमाडौँको बाहेक अन्य जमिन पुर्ख्यौली रहेको कँडेलले उल्लेख गरेका छन् । चल सम्पत्तिमा कँडेलसँग १० तोला सुन रहेको र उक्त सुन केही पुर्ख्यौली र केही खरिद गरेको जनाइएको छ । बैंक, वित्तीय संस्था तथा सहकारीमा कँडेलको राम्रै रकम जम्मा गरेका छन् । कँडेल र उनकी श्रीमतीका नाममा विभिन्न ११ वटा बैंक तथा सहकारीमा गरी ३३ लाख १२ हजार ४८५ रुपैयाँ मौज्दात छ ।
जस अन्तर्गत कँडेलको एभरेष्ट बैंक काठमाडौँमा १ लाख २४ हजार २३७.६४ रुपैयाँ रकम मौज्दात छ भने एनआइसी एशिया बैंकमा ३ लाख २४ हजार २५६ रुपैयाँ बचत र १२ लाख मुद्दति खातामा छ । यस्तै कँडेलको ललितपुरको क्यारिना सहकारीमा १ लाख १५ हजार १५३ रुपैयाँ बचत छ भने पिपलबोट सहकारीमा ७५ हजार ३२२ रुपैयाँ बचत छ ।
राष्ट्रिय वाणिज्य बैंकमा २५ हजार, जनहितकारी सहकारी संस्थामा ८० हजार ९० रुपैयाँ बचत रहेको उनले उल्लेख गरेका छन् । यस्तै श्रीमती गिता अधिकारीको नाममा ग्लोबल आईएमई बैंकमा १ लाख ९० हजार ३०५, जनहितकारी सहकारीमा १ लाख ६३ हजार ७८३, क्यारिना सहकारी ललितपुरमा १ लाख ३० हजार ६३७, लक्ष्मी विकास बैंकमा ८ लाख ७ हजार र पिपलबोट सहकारी संस्थामा ७८ हजार ७०६ रुपैयाँ मौज्दात रहेको उल्लेख छ ।
उक्त रकम पारिश्रमिक, घरभाडा, बोनस, सापटी फिर्ता लगायतबाट जोडेको मुख्यमन्त्री कँडेलले उल्लेख गरेका छन् । कँडेलले श्रीमतीको पेसाबारे भने खुलाएका छैनन् । कँडेलले राष्ट्रिय वाणिज्य बैंकबाट ४५ लाख ऋण लिएको विवरणमा उल्लेख गरेका छन् । कँडेलसँग जीप भए पनि बिक्री गरिसकेको उल्लेख गरेका छन् । सार्वजनिक सम्पत्ति विवरण अनुसार उनीसँग २ वटा मोबाइल, १ ट्याबलेट, २ घडी र एक ल्यापटपसमेत छ ।
भौतिक मन्त्रीका ७ वटा घर
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाको डोल्पाको काईके गाउँपालिकामा ७ वटा घर रहेको छ । ती घर गोठहरु सबै पैतृक सम्पत्तिबाट खरिद गरेको बुढाले जनाएका छन् । त्यस्तै कमरी बुढाको नाममा डोल्पाकै ठूलीभेरी नगरपालिकामा २ स्थानमा जमिन भएको बुढाले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
सो जमिन व्यापारबाट खरिद गरेको बताएका छन् । नेकपा एमालेको तर्फबाट मन्त्री बनेका बुढासँग २० तोला सुन र ६० तोला चाँदी रहेको छ । त्यस्तै श्रीमती कुमारी बुढाको नाममा नेपाल वैंकमा २० लाख रुपैंया वचत पनि रहेको बुढाले उल्लेख गरेका छन् । उनीसँग २ वटा बुलेट बाईक पनि छ ।
सो बाइक व्यापारमार्फत खरिद गरेको उल्लेख गरेका छन् । मन्त्री बुढासँग ४ वटा घोडा, ५ वटा गाई र १० वटा भेडा बाख्रा पनि छन् । सो सबै पुख्र्यौली सम्पत्तिबाट खरिद गरेका हुन् । यसका अतिरिक्त बुढासँग १०० किलो काँच र २०० किलो तामा पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
सबैभन्दा धनी सामाजिक मन्त्री
सामाजिक विकास मन्त्री वीरबहादुर शाही सबैभन्दा धनी छन् । उनको डोल्पाको जगदुल्ला गाउँपालिका, बाँके र सुर्खेतमा गरेर चार वटा घर रहेका छन् । सो घरहरु उनले व्यापार र पुख्र्यौली सम्पत्तिबाट खरिद गरेका हुन् । शाहीकै नाममा डोल्पा, सुर्खेत, बाँके, रुकुम पश्चिममा गरी ७ ठाउँमा करोडौँ मूल्य बराबरको जग्गाजमिन पनि छ ।
सो जमिन पनि उनले ठेक्कापट्टाबाट खरिद गरेका हुन् । शाहीसँग ३२ तोलाभन्दा धेरै सुन रहेको छ भने १० तोला चाँदी रहेको छ । त्यस्तै उनले श्रीमती शीलाकुमारी शाहीको नाममा ५ लाख बैंकमा मैज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनी र श्रीमतीको नाममा गरेका एउटा क्म्पनीमा ७० प्रतिशत र अर्को कम्पनिमा ३० प्रतिशत हिस्सा सेयर रहेको छ । त्यस्तै उनले विभिन्न वैंकहरुमा साढे ८ लाख रुपैंया ऋणपनि लिएको विवरणमा उल्लेख गरेका छन् ।
मन्त्री शाहीसँग २ थान डोजर रहेको छ भने एउटा बाईक पनि छ । त्यस्तै एउटा ट्याक्टर पनि रहेका शाहीसँग ४० वटा घोडा, ६ वटा खच्चड र ३०० वटा बाख्रा पनि रहेका उनले उल्लेख गरेका छन् भेन उनको एउटा स्याउ फार्मपनि छ । एक करोडमा खरिद गरेको एउटा ग्रिल उद्योग पनि शाहीले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
कृषि मन्त्रीसँगै सुन चाँदी कति हो कति ?
भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह पनि धनी मन्त्रीमै पर्छन् । उनकी श्रीमतीको नाममा काठमाडौंको बुढानीलकण्ठमा ७५ लाख रुपैंया ऋण लिएर खरिद गरेको ३ आनामा बनेको दुई तले घर छ । त्यस्तै श्रीमतीकै नाममा भक्तपुरको सूर्यविनायकमा ५०८.७४ वर्गमिटर र दैलेखमा १५८ वर्गमिटर जमिन रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यस्तै दैलेखको ठाटीकाँधमा श्रीमती लक्ष्मीदेवीको नाममा ५० रोपनी जमिन रहेको विवरणमा उल्लेख छ ।
उनीसँग ६५ तोला सुन, हिराको हार १५ क्यारेट, रुवी सेट २ थान र १५ सय तोला चाँदीका भाँडाकुँडा रहेका छन् । मन्त्री शाहको दुईवटा बैंकमा गरेर ६० हजार कूल रकम मौज्दात रहेको छ भने उनीसँग एक एक थान मोबाइल र ल्यापटपपनि छ ।
..जो मन्त्रीहरु कमजोर छन्
नेकपा माओवादी केन्द्रको तर्फबाट जलस्रोत तथा उर्जामन्त्री रहेका रणसिं परियारसँगै खासै सम्पत्ति छैन । गाउँमा पुख्र्यौली घर छ, सोही ठाउँमा ६० रोपनी जति पुर्खाको पाखोबारी छ । ३ तोला सुन, २० तोला चाँदी र ६० हजार रकम मौज्दात रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
नगद तलभत्ता र बाँकी पुर्ख्यौली सम्पत्ति हो । दुई वटा बैँकमा गरी ७० हजार रकम मौज्दात छ भने ४ वटा गाई, ७ गोरु र ३० बाख्रा छन् । सबै पुर्ख्यौली नै रहेको उल्लेख छ । ३ लाख ६० हजार मूल्यको कर्णाली ट्रेडर्स नामको खुद्रा पसल रहेको पनि परियारले उल्लेख गरेका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत पनि निकै गरिब देखिएका छन् । अन्य मन्त्रीहरुको करोडौंको सम्पत्ति देखिँदा उनीसँग गृह जिल्ला कालिकोटमा एउटा घर रहेको छ भने कालिकोटकै विभिन्न ७ स्थानमा पुख्र्यौली जमिन बाहेक उनीसँग अरु केही सम्पत्ति छैन ।
भौतिक पुर्वाधार राज्यमन्त्री गमता विक पनि कमजोर छिन् । आठबिस नगरपालिका–१, दैलेख निवासी उनले घर, जमिन केही नभएको विवरण पेस गरेकी छन् । उनले आफ्नो नाममा नभएकाले नराखिएको बताइन् । उनीसँग चार तोला सुन, १० तोला चाँदी छ, जो कृषि खेतीबाट जोडेको र केही पैतृक सम्पत्ति हो ।
५ लाख रकम बैँकमा जम्मा छ । उक्त रकम सांसदको तलब भत्ताबाट जम्मा गरिएको उल्लेख छ । यस्तै तीन लाख ऋण रहेको र त्यसमा एक लाख तिरिसकिएको बताएकी छन् । उनीसँग २० हजारको मोबाइल, ५ हजारको घडी र ३० हजारको टिभी रहेको उल्लेख गरेकी छन् । उक्त सम्पत्ति तलब भत्ताबाट जम्मा गरिएको हो ।
अर्थमन्त्री महेन्द्र केसी पनि निकै गरिब देखिएका छन् । उनीसँग आफ्नो बस्ने घर छैन । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३, निवासी केसीको गाउँमा २७५२ र ८० वर्ग मिटरको दुई ठाउँमा जमिन छ भने कपिलवस्तुको बाँणगंगाको तीन ठाउँमा गरी ३ कट्ठा ९ धुर जमिन छ । बाँफिकोटको पुर्ख्यौली हो भने कपिलवस्तुको स्रोत खुलाएका छैनन् ।
उनीसँग पनि सुन चाँदी केही छैन । उनी र उनको परिवारको नाममा दुईवटा बैँकमा ६ लाख एक हजार ३३५ रुपैयाँ मौज्दात छ । केसीको पारिश्रमिक र श्रीमतीको द्वन्द्व पीडितलाई सरकारले दिने सुविधाबाट जम्मा भएको उल्लेख छ । त्यस बाहेक उनीसँग केही सम्पत्ति पनि छैन । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।