
सुर्खेत। सुर्खेतमा शृङ्खलाबद्ध चोरीमा संलग्न एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेकवेशी नगरपालिका–१ बस्ने अन्दाजी ५० वर्षीय हरी नारायण कार्कीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार २०८३ वैशाख १ गते राति करिब ११ बजे वीरेन्द्रनगर नगरपालिका–११ गाग्रेतालस्थित हरिकला शाहीको घरमा कोही नभएको मौका छोपी नगद तथा सुनचाँदीका गरगहना लगायतका सामान चोरी भएको थियो।

घटनापछि अनुसन्धानका क्रममा संलग्न रहेको आशंकामा कार्कीलाई नियन्त्रणमा लिई उनको घरमा खानतलासी गर्दा चोरी भएका विभिन्न सामानहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी मोहनजंग बुढथापाले जानकारी दिए। उनका अनुसार हाल उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
बरामद गरिएको सामानमा २ थान ल्यापटप, ३ थान चार्जर, ५ थान मोबाइल, २ थान सिसिटिभी क्यामेरा, ६ थान घडी, २ थान मिक्सर, १ थान गितार, १ थान टिभी, नगद रु ३६ हजार ९७ तथा विभिन्न सुनचाँदीका गरगहना र सिक्का रहेका छन्। प्रहरीले बरामद सामान कसैको चोरी भएको भए प्रमाणसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
