
सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार बिहान बसेको बैठकले प्रदेशको यातायात व्यवस्थापनदेखि विकास आयोजनासम्मका विषयमा निर्णय गरेको हो।
सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार बैठकले “कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२” स्वीकृत गरेको छ। यस्तै तबैठकले कालिकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकता आयोजनाका रूपमा समावेश गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न राष्ट्रिय योजना आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
यस्तै, जाजरकोट जिल्लाको “वडावन–सानाखोला सडक” लाई पनि प्रादेशिक प्राथमिकता आयोजनामा समावेश गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता शाहले जानकारी दिए।