२०८३ वैशाख २३ , बुधबार
देशभर सरकारी जग्गा फिर्ता गर्ने अभियान

दैलेखको ठाँटीकाँधमा जनप्रतिनिधिकै सरकारी जग्गामा घर



समाचार सारांश
Generated Using AI
  • ठाटीकाँधमा जनप्रतिनिधि, कर्मचारी र नेताहरूले सरकारी तथा वन क्षेत्रको जग्गा अतिक्रमण गरेको खुलासा।
  • गाउँपालिका अध्यक्ष रक्षबहादुर शाहले समेत सरकारी जग्गामा घर बनाएको पुष्टि।
  • अध्यक्ष शाह र उनका आफन्तले आफूलाई ‘अव्यवस्थित बसोबासी’ देखाउँदै सरकारी जमिनमा दाबी गरेका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

सुर्खेत। दैलेखको ठाटीकाँधमा गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहसहित जनप्रतिनिधि, कर्मचारी र राजनीतिक दलका नेताहरूले नै सरकारी तथा वन क्षेत्रको जग्गा घर निर्माण गरेको खुलासा भएको छ। देशभर सरकारी जग्गा खाली गराउने अभियान चलिरहेका बेला ठाटीकाँधमा भने उल्टै जनप्रतिनिधिहरू नै अतिक्रमणमा संलग्न रहेको पाइएको हो।

स्रोतका अनुसार अध्यक्ष शाहले आफ्नै गाउँ सिराडीमा घरजग्गा हुँदाहुँदै ठाटीकाँध बजार क्षेत्रको सरकारी जग्गामा केही वर्षअघि घर निर्माण गरेका थिए। त्यस्तै, उनका यसअघि स्वकीय सचिव रहेका भतिजा भूपेन्द्रबहादुर शाहीले पनि सुर्खेतको वीरेन्द्रनगरमा पक्की घर र गाउँमा भैरवस्थानमा घर हुँदाहुँदै ठाटीकाँध बजार नजिकैको पातल जंगल क्षेत्रको किनारमा घर बनाएका छन्। उक्त क्षेत्रमा जंगल मास्न नपाइने भन्दै स्थानीयस्तरमा विगतदेखिनै विरोध हुँदै आएको थियो।

अध्यक्ष शाह र उनका परिवारका सदस्यहरूले आफूलाई ‘अव्यवस्थित बसोबासी’ देखाउँदै वडामा नाम दर्ता गराएको समेत पाइएको छ। उनीहरूले गाउँपालिकाको मुकाम रहेको ठाटीकाँध बजार क्षेत्रको जमिनमा दाबी प्रस्तुत गरेका हुन्।यसैगरी, वडा नम्बर १ का अध्यक्ष चक्र कामी, वडा सदस्य कर्ण कामी र एमाले नेता योगेन्द्रविक्रम राज थापालगायतले पनि आफूलाई अव्यवस्थित बसोबासी दाबी गर्दै सरकारी जग्गामा बसोबास गरिरहेको स्रोतले जनाएको छ।

उनीहरूमध्ये केहीको आफ्नै गाउँमा पहिले नै घरजग्गा प्रशस्त मात्रामा छ । ठाटीकाँध गाउँपालिकाको मुकाम क्षेत्रको सामुदायिक वनको जग्गा समेत अतिक्रमणमा परेको छ। शान्ति सम्झौतापछि तत्कालीन माओवादी समूहले बजार विस्तारका नाममा करिब ९३ घडेरी वन क्षेत्र अतिक्रमण गरी वितरण गरेको स्थानीय बताउँछन्। त्यसबेला घडेरी वितरण रोक्ने प्रयास भए पनि अहिले सोही क्षेत्रका धेरै घडेरीमा घर निर्माण भइसकेका छन्।

यता गाउँपालिकाका कार्यवाहक अध्यक्ष देविराम बडुवालले अध्यक्ष शाहले सरकारी जग्गामा घर बनाएको स्वीकार गरेका छन्।उनका अनुसार अध्यक्षले आफूलाई सुकुम्बासी दाबी गर्दै फाराम भरेका थिए। तर अन्यत्र घरजग्गा हुँदाहुँदै सरकारी जमिनमा घर निर्माण गर्नुको कारण के भनेर सोध्न उनले यो विषयमा अध्यक्षलाई सोध्न आग्रह गर्दै स्पष्ट जवाफ दिन चाहेनन्।

काव अध्यक्ष बडुवालले माओवादी जनयुद्धकालमा स्थानीयलाई बाडेको जग्गा जमिन अन्य व्यक्तिबाट किनेको दाबी गरे। यस्तै भुपेन्द्रले अरूले ऐलानी जग्गामा घर बनाएकाले आफूले पनि घर बनाएको स्वारिकर गरे। उनले आफ्नो बाउँ बाजेले विगतदेखि नै खेती किसान गर्दै आएको जग्गामा आफूले घर बनाएको बताए।

उनले सरकारले उक्त घर भत्काउन चाहेमा आफू साथ दिन तयार रहेको बताए। त्यहाँ मेरो मात्रै घर बनेको होइन। ९० प्रतिशत घर ऐलानी जग्गामा बनेका छन्।,’ उनले भने, ‘मेरो बाउ बाजेले खेतीपाती गर्दै आएको जग्गामा मैले घर बनाएको हो। सरकाले भत्काउन चाहेमा आफू साथ दिन तयार छु। सरकारको निर्णय स्वागतयोग्य छ।,’ उनले अरूको घर भत्काउँदा आफ्नो घर पनि भत्काउनमा केही समस्या नभएको बताए। यो समाचार आजको  सिद्धदर्शन दैनिक पत्रिकामा प्रकाशित छ।

प्रकाशित मिति : २०८३ वैशाख २३ गते बुधबार