२०८३ वैशाख २० , आइतबार

जाजरकोटमा असिना र बाढीले घर, बाली र पूर्वाधारमा क्षति

५ वडाका सडक पुर्ण रुपमा अवरुद्ध


बाढीले क्षति बनाएका घरहरु ।

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा गत वैशाख १३ गते परेको भीषण असिना पानी र बाढीले ठूलो क्षति पु¥याएको छ। लगातार परेको असिना पानी र बाढीले किसानहरूले लगाएको गहुँ बाली भित्र्याउने समयमा नै पूर्ण रूपमा नष्ट गरिदिएको छ भने पशुचौपाया तथा ग्रामीण पूर्वाधारमा समेत क्षति पुगेको हो ।

गाउँपालिका अध्यक्ष बेदबहादुर शाहीका अनुसार जुनीचाँदे गाउँपालिकाका सबै वडामा गरिएको गहुँ खेती पूर्ण रूपमा नष्ट भएको छ । विशेषगरी वडा नम्बर ४, ५, ६, १० र ११ मा ठूलो मात्रामा क्षति भएको उनको भनाइ छ । उनले यस पटकको प्राकृतिक विपद्का कारण स्थानीय किसानहरू गम्भीर संकटमा परेको बताउँदै यहाँ भोकमरीको जोखिम समेत बढ्न सक्ने अवस्था देखिएको बताए ।

‘बाढीकै कारण गाउँपालिकाका ५ वटा वडामा जोडिएका ग्रामीण सडकहरू पूर्ण रूपमा अवरुद्ध छन् ।,’ उनले भने, ‘अहिले सवारी साधन आवतजावत ठप्प भएको छ । मानिसहरू पैदल हिँड्न बाध्य छन् भने मोटरसाइकल समेत चल्न नसक्ने अवस्था बनेको छ ।,’ यस्तै वडा नम्बर–३ सानोखोलामा बाढीले ७ वटा घरमा ठूलो क्षति पु¥याएको छ ।

ती घरहरू बस्न अयोग्य बनेपछि प्रभावित परिवारहरू हाल आफन्तको घर तथा अस्थायी टहरामा आश्रय लिएर बसिरहेका उनको भनाइ छ । उनका अनुसार वडा नं। १० स्थित देउसुले बस्तीमा समेत बाढी पसेपछि बस्ती नै प्रभावित बनेको छ । यस्तै वडा नं. ८ मा रहेको स्वास्थ्य चौकी र वडा कार्यालयमा समेत बाढीले क्षति पु¥याएको छ ।

अध्यक्ष शाहीले क्षतिको यथार्थ विवरण संकलनका लागि गाउँपालिकामा कार्यपालिका बैठक बसेर विस्तृत मूल्याङ्कन गर्ने तयारी गरिएको जानकारी दिए । यता, नेपाली कांग्रेस जाजरकोटबाट निर्वाचित सांसद खडकबहादुर बुढाले पनि बाढी–पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए ।

उनले बाढीबाट क्षतिग्रस्त सडक, खानेपानी संरचना, अन्नबाली, घर तथा पशुचौपायाको विस्तृत विवरण संकलन गरेर राहत तथा पुनःनिर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए । सांसद बुढाले आफु स्वयं पनि प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्न र राहत सामग्री लिएर जाजरकोट जाने तयारीमा रहेको बताए । उनले सबै संघ–संस्था, स्थानीय तह तथा सरोकारवालालाई एकजुट भएर पीडितको सहयोगमा लाग्न अपिल गरेका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख २० गते आइतबार