
बिनोद घिमिरे, भेरीगंगा । १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भेरीगंगा नगरपालिका–११ मा ¥याली तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी मनाइएको छ । रामघाट बजारदेखि राताचौर वडा कार्यालयसम्म निकालिएको ¥यालीमा सहभागीहरूले “हाम्रो श्रमको सम्मान गर”, “ज्याला ठगी बन्द गर”, “एउटै काम एउटै ज्याला पूरा गर”, “अन्तर्राष्ट्रिय श्रमिक दिवस सफल पारौँ” र “हाम्रो श्रम किन कम ?” लगायतका नाराहरू लगाएका थिए ।
कार्यक्रम सहकर्मी समाजको आयोजना र भेरीगंगा नगरपालिका–११ सम्पन्न भएको हो । आयोजित अन्तरक्रियामा सहभागीहरूले रोजगारीको स्थायित्व, सीप विकास तथा तालिम र श्रमिक अधिकारको संरक्षणमा विशेष जोड दिएका छन् । अस्थायी तथा असुरक्षित रोजगारीका कारण श्रमिकहरू अझै पनि समस्यामा परेको उल्लेख गर्दै उनीहरूले स्थायी र मर्यादित रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।
साथै, समयानुकूल सीप विकास र व्यावसायिक तालिम प्रदान गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो । त्यसैगरी, श्रमिकको हक–अधिकारको पूर्ण संरक्षण, सुरक्षित कार्य वातावरण र न्यूनतम ज्यालाको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको थियो । महिला तथा कमजोर वर्गका श्रमिकहरू अझ बढी जोखिममा रहने भएकाले उनीहरूको विशेष संरक्षण आवश्यक रहेको सहभागीहरूको भनाइ थियो ।
कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष अम्मर बहादुर चन्दले राणा शासनकालदेखि हालसम्म पनि पुरुषको तुलनामा महिलालाई दिइने ज्यालामा विभेद कायम रहेको बताए । उनले श्रम क्षेत्रमा लैंगिक समानता अझै पूर्ण रूपमा स्थापित हुन नसकेको भन्दै यसतर्फ सबै सरोकारवाला गम्भीर हुनुपर्ने बताए ।
त्यसैगरी, वैदेशिक रोजगारमा श्रमिकका लागि ८ घण्टा कामको व्यवस्था भए पनि नेपाली युवाहरूलाई १६ घण्टासम्म काम गर्न बाध्य बनाइएको उल्लेख गर्दै श्रम शोषण व्यापक रूपमा भइरहेको उनको भनाइ थियो। श्रमिकको हक–अधिकार सुनिश्चित गर्न, समान ज्याला लागू गर्न र श्रम शोषण अन्त्य गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा उनले जोड दिए ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउने गरिन्छ ।
त्यसअघि सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित मजदुर आन्दोलन भएको थियो । त्यही दिनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिएको हो । सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो ।
सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन ग¥यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल ग¥यो । विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।
नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिनसमेत थालिएको हो ।