२०८३ वैशाख १७ , बिहीबार

युवाको प्रतिभा प्रस्फुटन गर्न सुर्खेतमा कर्णाली युवा महोत्सव हुँदै



सुर्खेत । कर्णाली प्रदेशमा ‘कर्णाली युवा महोत्सव’ आयोजना हुने भएको छ। वीरेन्द्रनगरस्थित सिटी हलको प्राङ्गणमा शनिबार र आइतबार (१९-२० गते) दुई दिने कार्यक्रम सञ्चालन हुने भएको हो। बालबालिका, किशोरकिशोरी तथा युवाको क्षेत्रमा काम गर्दै आएको संस्था युवालयको आयोजनामा हुन लागेको महोत्सव दोस्रो संस्करण हो।

यसअघि गत वर्ष ०८१ माघ १२ र १२ गते पहिलो संस्करण सम्पन्न गरिसकेको छ। बिहीवार पत्रकार सम्मेलमार्फत् मूल आयोजक समितिका संयोजक विनोद कुमार शाहीले पहिलो संस्करणबाट प्राप्त सिकाइ, हौसला र प्रेरणालाई निरन्तरता दिँदै यसपटक अझ प्रभावकारी रूपमा कार्यक्रम गर्न लागिएको बताए।

उनले महोत्सवको मुख्य उद्देश्य युवाको प्रतिभा पहिचान, क्षमता तथा नेतृत्व विकास, आपसी सञ्जाल विस्तार, स्थानीय कला–संस्कृतिको संरक्षण तथा प्रवर्द्धन र कर्णालीका सम्भावनाबारे बहस सिर्जना गर्नु रहेको जानकारी दिए। साथै कर्णालीबाट पनि युवाले ठूलो योगदान दिन सक्छन् भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ।

दुई दिने कार्यक्रममा वक्तृत्वकला प्रतियोगिता, नीति संवाद, अन्तरक्रिया, पुस्तक वार्ता, देउडा खेल, सांगीतिक तथा साहित्यिक प्रस्तुति रहनेछन्। कर्णालीको समृद्धिका लागि राज्यको दायित्व, जनप्रतिनिधि र युवाका सवाल, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार लगायत विषयमा छलफल गरिनेछ।

यसैगरी विभिन्न क्षेत्रमा उदाहरणीय कार्य गरेका १० जना युवालाई ‘कर्णाली युथ आइकन अवार्ड’ प्रदान गरिने कार्यक्रम पनि रहेको छ। प्रदेशका सबै जिल्ला तथा स्थानीय तहबाट युवाको सहभागिता सुनिश्चित गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार