२०८३ वैशाख १६ , बुधबार

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका अध्यादेश फिर्ता लिनुपर्छ : सांसद बुढा



सञ्चारकर्मीसँग कुरा गर्दै सांसद खडक बहादुर बुढा

काठमाडौँ। नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले सरकारले लोकतान्त्रिक प्रक्रिया मिचेर काम गरेको आरोप लगाएका छन्। कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका दुई अध्यादेश फिर्ता लिनुपर्ने बताएका हुन्।

उनले संसद् छलेर अध्यादेश ल्याउनु लोकतान्त्रिक विधिविपरीत भएको टिप्पणी गर्दै यसको भित्री कारण डरलाग्दो देखिरहेको बताए। साथै, सहकारीसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरे।

‘लोकतान्त्रिक विधिभन्दा बाहिर गएर सरकारले हिजोमात्र २ विधेयक राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ,’ जाजरकाेटबाट निर्वाचित सांसद बुढाले भने, ‘यो लोकतान्त्रिक विधिबाहिरको हर्कत हो । संसद् छलेर अध्यादेश ल्याउनुको भित्रि कारण डरलाग्दो देखिरहेका छौं । दुवै विधेयक फिर्ता लिन अनुरोध गर्न चाहन्छु ।’

सांसद बुढाले विगतमा प्रतिपक्षमा हुँदा अध्यादेशको विरोध गर्ने दलहरू अहिले मौन बसेको भन्दै प्रश्न समेत उठाए। विपक्षी दलहरूले यस विषयमा साझा एजेन्डा बनाएर प्रतिवाद गर्ने पनि उनले बताए। सरकारले हिजो (मंगलवार) मात्रै सहकारीसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

प्रकाशित मिति : २०८३ वैशाख १६ गते बुधबार